विकल्प दिन कावासोती फलफूल चोकका व्यवसायीको माग

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर २ गते १३:५३
विकल्प दिन कावासोती फलफूल चोकका व्यवसायीको माग

कावासोती ।  नवलपुरको कावासोती फलफूल चोकका व्यवसायीले आफूहरुलाई विकल्प दिएरमात्र पेट्रोल पम्पको थप काम अगाडि बढाउन माग गरेका छन् ।

नेपाल प्रहरीको नाममा रहेको खुल्ला चौरमा प्रहरी कल्याणकारी कोषले पेट्रोल पम्प निर्माण गरिरहेको छ । जसको कारण फलफूल चोकदेखि उत्तरतर्फका ४१ वटा पसल विस्थापित हुन लागेको भन्दै व्यवसायीले व्यापारिक केन्द्र भएकाले सटर निर्माण गरेर अहिलेका व्यवसायीलाई भाडामा लगाउन माग गरेका हुन् ।

वर्षौंदेखि व्यवसाय गर्दै आएको र अहिलेको आर्थिक मन्दीको अवस्थामा लाखौं रुपैयाँ लागानी गरेको व्यापार एक्कासी हटाउँदा रोजिरोटी नै खोसिने भएकाले विकल्प दिएरमात्र थप काम गर्न माग गरेको व्यवसायी बाबुराम पोख्रेलले बताए ।

कावासोतीको मुख्य व्यापारिक केन्द्र फलफूल चोक नामले परिचित यस स्थानमा पेट्रोल पम्प र विद्युतीय सवारी चार्जिङ सेन्टरको काम भैरहेकोले अस्थायी टहरा हटाउन लागिएको प्रहरीले जनाएको छ । भर्खरै व्यवसाय सुरु गरेका र लाखौं रुपैयाँ लगानी गरेका व्यवसायी एक्कासी व्यवसाय बन्द गर्दा सडकमा आउने अवस्था छ । व्यवसायीले पम्प निर्माणपछि पर्खाल निर्माण हुने र सोही पर्खाललाई जोडेर सटर निर्माण गरेर अहिले व्यवसाय गर्दै आएकालाई प्राथमिकतामा राखिनुपर्ने व्यवसायी प्रकाश ज्ञवालीले आग्रह गरे ।

पेट्रोल पम्प निर्माण कार्य सुरु भएपछि प्रहरीको जग्गामा व्यवसाय सञ्चालन गर्दै आएका पसल तथा टहरा हटाउन सूचना जारी गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी जेशी शाहले बताए ।

पूर्व-पश्चिम राजमार्गको कावासोती फलफूल चोकको उत्तरतर्फ प्रहरीले १० करोड ८० लाखको लागतमा पेट्रोल पम्प बनाइरहेको छ ।

प्रकाशित : २०८१ मंसिर २ गते १३:५३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI