सडकको ढुङ्गाले लागेर महिलाको मृत्यु प्रकरण: बिमा पोलिसीबाट क्षतिपूर्ति दिईने

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ३ गते १५:०१
सडकको ढुङ्गाले लागेर महिलाको मृत्यु प्रकरण: बिमा पोलिसीबाट क्षतिपूर्ति दिईने

कावासोती । नारायणघाट बुटवल सडकको नारायणघाट कावासोती खण्डमा पर्ने देवचुलीको चौधरी उद्योग अगाडी सडकबाट उछिट्टिएर आएको ढुङ्गाले लागेर गम्भीर घाईते भएकी महिलाको मृत्युभएको घटनामा पिडित परिवारलाई बिमा पोलिसीबाट क्षतिपूर्ति दिईने सहमति भएको छ ।

गत साउन २८ गते सडक छेउमा हिडिरहेकी देवचुली-३ कि रिता सुवेदी सडकबाट उछिट्टिएर आएको ढुङ्गाले लागेर गम्भीर घाईते भएकी थिईन । उनको उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भए पछि आक्रोसित स्थानीयले शनिबार दिउँसो सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

सडक निर्माणको क्रममा निर्माण कम्पनीले चरम लापरबाही गरेका कारण पटक पटक दुर्घटना हुने गरेको र सुरक्षाको उपाय अपनाउन पटक पटक आग्रह गर्दा समेत सुनुवाइ नभएको भन्दै स्थानियले आयोजना प्रमुख आशिष् मगरलाई समेत घटनास्थलमा बोलाएर घेरेका थिए ।

आईतबार देवचुली नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले मृतकका परिवारलाई राहत–क्षतिपूर्ति उपलब्ध गराउन सडक निर्माणका लागि गरिएको बिमा पोलिसी अनुरुप सडक आयोजना कार्यालयले आवश्यक पहल गर्ने निर्णय गरेको हो। त्यसै गरि बैठकले दलदले एन.आई.सी. एसिया बैंक देखि रजहर सम्म सडक मर्मत गर्ने, सडकमा रहेका ढुङ्गा हटाउने, निर्मित पुलहरु सुचारु गर्ने लगायतका कार्यहरु तत्काल (३ दिन भित्र) शुरु गर्ने तथा उक्त खण्डको सडकलाई प्राथमिकतामा राखी वर्षातपछि कालोपत्रे गर्दा सो खण्डबाट शुरुवात गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा भएको सर्वपक्षीय छलफलमा देवचुली नगरपालिकाकि उपप्रमुख पार्वता तिवारी, जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल, जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदबहादुर पौडेल, नारायणगढ–बुटवल सडक आयोजनाका पूर्वी खण्डका प्रमुख आशिष थापा, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, देवचुलीका विभिन्न वडाका वडा अध्यक्षहरु, लगाएतकाको उपस्तिथि रहेको थियो ।

प्रकाशित : २०८१ भदौ ३ गते १५:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI