सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्तामध्ये ४८ को अवस्था अझै अज्ञात

NAWALPUR TIMES

सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्तामध्ये ४८ को अवस्था अझै अज्ञात
simaltal2024 07 16 06 50 04

सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका ६२ मध्ये १४ जनाको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार नौ, आइतबार दुई र शनिबार तीन गरी १४ शव फेला परे पनि हालसम्म ६ जनाको मात्र सनाखत भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सातको पहिचान खुलेको छैन । उनका अनुसार भारतीय नागरिक २८ वर्षीय ऋषिपल साह, ३० वर्षीय जयप्रकाश ठाकुर, ३० वर्षीय सजाद अन्सारी, सर्लाहीका १९ वर्षीय रमित माझी, रौतहटका फिरोज राहुप मिया, चितवनका २२ वर्षका विकास परियार र सुदीप विकको शव मात्र पहिचान भएको हो ।

२८ असारमा चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा दुई बस त्रिशूली नदीमा खसेका थिए । तर, बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचेका थिए । बस भने अझै फेला परेको छैन ।

पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका यात्रुको शव पनि घटनास्थलबाट ९० किलोमिटर टाढा विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको ब्यारेज पुलआसपास भेटिन थालेका छन् । सोमबार भेटिएका नौमध्ये ६ शव ९० किलोमिटर टाढा भेटिएका हुन् भने बाँकी शव पनि घटनास्थलभन्दा कयौँ किलोमिटर टाढा भेटिएका हुन् । ब्यारेज पुलमा भेटिएका नौ शवमध्ये सुदीप विकको शव मात्र पहिचान भएको छ ।

टाढा पुगेर खोजिँदै यात्रु र बस 
बस खसेको स्थान सिमलतालमा सोमबार दिउँसो १ बजे  पुग्दा सुनसान थियो ।  प्रहरी÷प्रशासनले शव र बस घटना स्थलभन्दा तल रहेको अनुमान गरेर देवघाट, नारायणी किनार, गोलाघाट, सुस्ता, ब्यारेज पुल क्षेत्रमा खोजी तीव्र पारेका छन् । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालका अनुसार शव भेटिएका स्थानमा खोजी भइरहेको छ । ‘सुुरुका दिनमा घटनास्थल आसपासमा खोजेका थियौँ । शव ९० किलोमिटर टाढा भेटिन थालेपछि टाढाटाढा खोज्न थालेका हौँ,’ उनले भने । गत शुक्रबारभन्दा आजभोलि त्रिशूलीको बहाव घटेकाले शव पनि तैरिएको र बगरमा भेटिन थालेको उनले बताए ।

गोताखोर टोलीले वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एन्कर) को प्रयोग गरेर बेपत्ता बस र यात्रु खोजिरहेको छ । किनारको वारि–पारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ । बेपत्ताका परिवार तथा आफन्तले भने आफ्ना मान्छे छिटो खोजिदिन प्रशासनलाई सामूहिक हारगुहार गरेका छन् ।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेकोे गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बर र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्सको बा.प्र ०३–००६ ख १५१६ नम्बरका बस शुक्रबार बिहान साढे ३ बजे सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएका थिए ।

मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने मधेश सरकारको निर्णय
सिमलताल पहिरोमा ज्यान गुमाएकाका परिवारलाई मधेश प्रदेश सरकारले सहयोगको घोषणा गरेको छ । मधेश मन्त्रिपरिषद्को सोमबारको बैठकले सिमताल घटनामा परी ज्यान गुमाएका (मधेश प्रदेशका बासिन्दा) का परिवारलाई जनही एक लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय सरकारसँग घटनामा बेपत्ता भएकाको खोजबिनमा तीव्रता दिँदै मृतकका परिवारलाई आर्थिकसहितका सहयोग गर्न आग्रहसमेत गरेका छन् ।-नयाँ पत्रीकाबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology