पुँजीगत खर्च बढाउन सरकार लागेको छ : मुख्यमन्त्री पाण्डे

NAWALPUR TIMES

पुँजीगत खर्च बढाउन सरकार लागेको छ : मुख्यमन्त्री पाण्डे
received 388900496965420

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुँजीगत खर्च बढाउन सरकार लागेको बताउनु भएको छ । शनिबार नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको पत्रकार भेटघाट क्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पुँजीगत खर्च गत वर्षको भन्दा बढाउन आफूहरू लागेको बताउनु भएको हो ।

सुरुका पाँच , छ महिना प्रक्रियामै जाने गरेकोमा यसलाई थप व्यवस्थापन गर्दै खर्च बढाउन गण्डकी प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । ‘विगतमा पनि सुरुका पाँच, छ महिनाको खर्चको अवस्था कमनै हुँदो रहेछ, तर पहिले जस्तै हुनुपर्छ भन्ने छैन’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘हामी पुँजीगत खर्च बढाउने गरि लागेका छौं, यसवर्ष खर्च केहि बढाउँछौ।’ बहुवर्षीय बाहेकका ठेक्का अहिले बल्ल लाग्न थालेकाले अब खर्च क्रमश बढ्दै जाने उहाँले बताउनुभयो । ‘हेर्दा असार विकास भन्ने जस्तो देखिएपनि , अहिले ठेक्का लागेका योजनाको प्रायजसो भुक्तानी बैशाख पछि हुँदो रहेछ, तेतीबेला खर्च बढ्छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘तर बैशाखपछि विपद बाहेक कुनैपनि नयाँ योजनामा हामी पैसा विनियोजन गर्दैनौ भनेकाछौं।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नै प्रदेशमा अन्य प्रदेश हुँदै जानुपर्ने बाध्यता हटाउने विषयमा गण्डकी प्रदेश सरकार लागेको बताउनुभयो । गण्डकी प्रदेशको भारतीय सीमासँग जोडिएको त्रिवेणी नाका पुग्न लुम्बिनी प्रदेशहुँदै जानुपर्ने अवस्था रहेकोमा दुम्किबास –त्रिवेणी सडक खण्डको निर्माणका लागि आफूले सक्दो प्रयास गरिरहेको उहाँले बताउनुभयो । यसका लागि संघ सरकारले समेत अपठ्यारो फुकाईदिनुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

‘गण्डकी प्रदेशको एउटा भूभाग जान दोस्रो प्रदेश भएर जानुपर्ने ठिक भएन, हामीले हाम्रो प्रदेशको कुनै पनि भूभागमा आफ्नो प्रदेशबाट जान पाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘निकुञ्ज संघ सरकार मातहतमा पर्छ , सघं सरकारले हामीलाई परेको अपठ्यारो फुकाईदिनुपर्छ।’

नवलपुरको दुम्किबास–त्रिवेणी सडक चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जले आवश्यक सहजिकरण गरिदिनुपर्ने समेत मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

आर्थिक दृष्टिले, व्यापारिक हिसाबले केही फाइदा लिन सकियोस् भनेर गण्डकी प्रदेशको त्रिवेणीनाका भारतसँग जोडिएको भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘ तर यो बाटो खुलेन भने संविधानले परिकल्पना गरेको र जुन उद्देश्यका लागि प्रदेशको सिमाना त्रिवेणीसम्म पुर्यायौँ त्यसको कुनै फल प्राप्त गर्न सक्दैनौ, त्यो उद्येश्य पनि प्राप्त गर्न सक्दैनौ ,त्यसकारण यो बाटो पहिले खोल्नुपर्छ।’रासस#

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology