रक्सी खाने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली

NAWALPUR TIMES

रक्सी खाने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
Kp woli new

अर्घाखाँची – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आइतवार सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ । एमाले नेता, कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको बताउँदै एमालेबाहेकका दलहरू राष्ट्रलाई खोक्रो पार्ने अभियानमा रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘विपक्षीहरूले राष्ट्रिय शक्ति निर्माणको कामलाई अगाडि बढाउन नदिएको प्रयासलाई असफल पारेर एमालेले मिसन ग्रासरुटमार्फत मिसन ५१ प्रतिशत उपलब्धि हात पार्छ ।’

एमालेजस्तो पार्टीका कार्यकर्ताले पाटीलाई भोट नदिने कुरा सोच्नै नसक्ने बताउँदै ओलीले व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताउनुभयो । ‘अहिले सिङ कसका बलिया भनेर जोरी खोज्ने समय होइन । गाई–गाई भेट भए मिलेर चर्छन् । गोरु–गोरु भेट भए तँ ठूलो कि म ठूलो भनेर सिङ जुधाउन थाल्छन् ।’

एमालेलाई चक्रव्यूहमा पारेर फसाउन खोजेको दाबी गर्दै अध्यक्ष ओलीले महाभारतमा अभिमन्युलाई चक्रव्यूहबाट निस्कन नआए पनि आफूलाई चक्रव्यूह तोड्न र बाहिर निस्कन सबै आउने दाबी गर्नुभयाे । एमालेलाई अगाडि बढ्न नदिन प्रतिक्रियावादी शक्तिहरू लागिपरेको उहाँकाे आराेप छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology