आयुर्वेदिक उपचारमा आकर्षण बढ्दो

NAWALPUR TIMES

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दो
834782331Untitled 4

कावासोती (रासस) । कोभिड–१९ महामारीका बीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले ‘साइड इफेक्ट’ पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक कुशलकृष्ण शर्माले जानकारी दिए । यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो ।
ग्यास्टिकको समस्याले आजित भएका कावासोती–७ का रवीन्द्र शर्माले पटक–पटक अस्पताल धाएर एलोप्याथिक औषधि प्रयोग गर्दा पनि निको नभएपछि दिक्क भएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गएपछि त्यहाँको उपचारले निको भएको बताए । त्यस्तै विनयी त्रिवेणी–२ का जय गौतम पायल्सको समस्याले पीडित थिए। एलोपेथिक उपचारबाट रोकथाममात्रै हुने र शल्यक्रिया गर्नुपर्छ भनेपछि उनी आयुर्वेदिक उपचारतर्फ लागे । शल्यक्रिया नगरी रोग निको भएपछि अहिले उनी अरुलाई पनि आयुर्वेदिक उपचार गर्न सल्लाह दिन्छन् ।
पूर्वी नवलपरासीमा सरकारीस्तरमा आयुर्वेद अस्पताल भएको धेरैलाई थाहा छैन । विसं २०५२ मा  सरकारले अरुणखोलामा आयुर्वेद औषधालय स्थापना गरेपछि स्थानीय बासिन्दालाई राहत भयो, तर प्रचार–प्रसार अभावमा यस क्षेत्रको विकासमा चासो भएन । संविधान जारी भएसँगै  अहिले  यो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको हो । पूर्वी नवलपरासीमा छ वटा आयुर्वेद औषधालय र दुईवटा नागरिक आरोग्य सेवा केन्द्र छन् ।

दीर्घकालीन रोग र ‘साइड इफेक्ट’रहित आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउने रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा ३३ हजार छ सय ६७, आव २०७६/७७ मा ३४ हजार पाँच सय ५७, आव २०७७/७८ मा ५१ हजार सात सय ३४ र आव २०७८/७९ मा ५४ हजार दुई सय ३४  बिरामीले विभिन्न किसिमका सेवा लिएका छन् ।

केन्द्रका सूचना अधिकारी शर्माका अनुसार बाथ, अमलपित्त (ग्यास्ट्रिक), छाला रोग, पायल्स तथा रगतसम्बन्धी विकारका समस्या भएका बिरामी धेरै आउने गरेका छन् ।

सरकारी तवरबाट जिल्लामा सञ्चालित आयुर्वेद औषधालयमा त्रिफला चूर्ण, अविपत्तिकर चूर्ण, सेतोपलादी चूर्ण, हिङवास्टक चूर्ण, बिल्वादी चूर्ण, निम्बादी चूर्ण, पुष्यानुग चूर्ण, योगराज गुगुल, कैशोर गुगुल, महाशङ्ख वुटी, षड्बिन्दु तेल, अर्श कुठार रस÷अर्शोघ्नी वटी, खदिरादी बुटी, सर्पगन्धाघन बुटी, महानारायण तेल, महासुदर्शन चूर्ण, गन्धक रसायन, जात्यादी तेल, टङ्कण  भष्म, पञ्चसकार चूर्ण, चन्द्र प्रभा बुटी, बालामृत, मृगमदासव, शताबरी चूर्ण, आश्वगन्धा चूर्ण, आमलकी चूर्ण, दशमूल तेल नाम गरेका २७ प्रकारका औषधि निःशुल्क पाइने सूचना अधिकारी शर्माले बताए । केन्द्र आफैँले प्रयोगशाला स्थापना गरेर ४२ प्रकारभन्दा बढी रगतसम्बन्धी परीक्षणसमेत निःशुल्क गर्ने गरेको शर्माले बताए ।

सरकारी आयुर्वेद औषधालयबाहेक जिल्लामा निजी क्षेत्रका आयुर्वेद औषधालय पनि सञ्चालनमा आएका छन् । केही वर्षअघिसम्म पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीलगायतका मुख्य बजारमा गन्न सकिने आयुर्वेदिक औषधि पसल दुई–चारवटा थिए । अहिले हरेक मुख्य बजारमा गरेर दुई दर्जन बढी आयुर्वेदिक औषधालय रहेको र उनीहरूबाट गुणस्तरीय सेवा लिन सकिने आयुर्वेद औषधि व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष गणेश आर्चायले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology