आजदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु

NAWALPUR TIMES

आजदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु
uses of electricity in our daily life

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज(आइएक्स)मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र  जारी भएको थियो । त्यसलगत्तै विद्युत प्राधिकरणले थप चार जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।

शुक्रबारबाट निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.कोे लिखु–४ बाट उत्पादित विद्युत निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत भारतीय बजारमा बिक्री सुरु भएको हो  प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी एको १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत दैनिक रूपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।

पानी परेसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत व्यापारका लागि कोशेढुंगा भएको बताए ।

‘स्वीकृत क्षमताअनुसारकै विद्युत निर्यात सुरु भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ यो दुई मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोशेढुंगा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाईसमेत कम गर्ने छ’, कार्यकारी निर्देशक घिसिङले भने । उनले दुई मुलुकबीचको विद्युत व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिए ।

आइएक्समा २४ घन्टालाई १५-१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ ।

प्राधिकरणले शुक्रबारका लागि विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश: १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२  रुपैयाँ (७.१४ भारु) रहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घन्टा विद्युत निर्यात गरिन्छ ।

प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ । एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology