आजदेखि सहज रुपमा पेट्रोलियम पदार्थ पाइने

NAWALPUR TIMES

आजदेखि सहज रुपमा पेट्रोलियम पदार्थ पाइने
petrol disel pump petrolium noc oil

काठमाडौं । आजदेखि पेट्रोलियम व्यवसायीहरूले गर्ने भनिएको देशव्यापी आन्दोलन फिर्ता लिएपछि पेट्रोलियम पदार्थ सहज रुपमा पाइने भएको छ ।

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको हो ।

निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो ।

छलफलबाट पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा आगामी जेष्ठ १५ सम्ममा सक्ने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।

पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू आइतबार बिहान ८ बजेदेखि नै सञ्चालन गरिने निगमले जनाएको छ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले शनिबारै पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिए ।

उनले आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology