नयाँ प्रकारको प्राचीन मानव प्रजातिको अवशेष पत्ता लाग्यो

NAWALPUR TIMES

नयाँ प्रकारको प्राचीन मानव प्रजातिको अवशेष पत्ता लाग्यो
119057864 skullandjawbone

बिबिसी । इजरेलमा अध्ययनकर्ताहरूले एक लाख वर्षभन्दा अगाडि जीवित आदिम मानवको अहिलेसम्म अज्ञात एक प्रकार पत्ता लगाएका छन्।

राम्ला सहरनजिक भेटिएको अवशेष त्यस्तो प्रकारको प्राचीन मानवको अन्तिममध्येका एक व्यक्तिको हुनसक्ने अध्ययनकर्ताहरूको विश्वास छ।

उत्खनन गरिएका जिवावशेषमा १,२०,००० देखि १,४०,०० वर्षअगाडि जीवित रहेको मानवको खप्परको अंश र चिउँडो छन्।

यसको विस्तृत विवरण साइन्स जर्नलमा प्रकाशित गरिएको छ।

अध्ययनकर्ताहरूले सो व्यक्ति युरोपमा नीयान्डर्टालको पुर्खाका रूपमा सयौँ हजार वर्षअगाडि यो भूभागमा छरिएका प्रजातिको सन्तान हुनसक्ने विश्वास गरेका छन्।

वैज्ञानिकहरूले आदिम मानवको यो नयाँ प्रजातिको वंशलाई ‘नेशर राम्ला होमो’ प्रकार भनेर नामकरण गरेका छन्।

तेल अभिभ विश्वविद्यालयकी डा. हिला मेले यो खोजले नीयान्डर्टाल र मानव विकास क्रमसम्बन्धी विवरणलाई नयाँ आकार दिने बताइन्।

नीयान्डर्टाल विकास क्रमलाई यसअघि युरोपसँग जोडिने गरिएको थियो।

“यो सबै इजरेलमा सुरु भएको थियो। यहाँको स्थानीय समूह नै स्रोत जनसङ्ख्या भएको हामीले सुझाव दिएका छौँ,” उनले भनिन्।

राम्ला

“नेशर राम्ला मानिसहरूको लहर मध्यपूर्वबाट युरोपतिर सरेका थिए।”

नेशर राम्ला मानवको पहिलो पुस्ता चार लाख वर्ष अगाडि नै मध्यपूर्वमा रहेको अध्ययनकर्ताहरूको विश्वास छ। नयाँ खोजिएको प्रकार र नीयान्डर्टालको अघिल्लो पुस्ताका आदिम मानिसबीच समानता देखिएको उनीहरूले बताएका छन्।

डा. मेले नेशर राम्लाहरू नीयान्डर्टालको पुर्खा हुनसक्ने बताइन्।

उनले नेशर राम्लाहरू आदिम मानवका अन्य प्रकारसँग सन्तानोत्पादन गर्दै युरोपतिर गएको र अन्य समूहहरू एशियाका भारत र चीनतर्फ गएको हुनसक्ने बताइन्।

नीयान्डर्टाल

यसले एशियाका आदिम मानव र युरोपका नीयान्डर्टालबीचको सम्बन्धमा रहेको खाडल पनि पुर्ने उनले बताइन्।

“पूर्वी एशियामा पाइएका केही अवशेषहरू नीयान्डर्टाल र नेशर राम्लासँग केही समानता भएका छन्,” प्राध्यापक इजरेल हेर्सकोभिट्जले भने।

नेशर राम्लाको अवशेष भेटिएको स्थान आदिम मानिसहरू आवतजावत गर्ने स्थान थियो। यो क्षेत्रमा भेटिएका ढुङ्गाका हतियारहरूका कारण यो स्थान उनीहरूले सिकार खेल्ने स्थान हुनसक्ने बताइन्छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology