प्रहरीलाई टिकटक चलाउन बन्देज

NAWALPUR TIMES

प्रहरीलाई टिकटक चलाउन बन्देज
tiktok

ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिकरुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका हुन्। जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्यिूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोग सम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए ।

“प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन । ड्यिूटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन स्वीकार्य हुँदैन”, उनले भने, “प्रहरी कर्मचारीले फेसबुक, ट्वीटर, टिकटकलगायत आफ्नो हितको लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिने खालका पोष्ट गर्नुपर्नेबारे सचेत गराएका छौं ।”

देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोशाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको उनको भनाइ छ । कार्यक्रममा प्रहरीको काम कर्तव्यसम्बन्धी पनि समसामयिक विषयमासमेत छलफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology