म्याग्दीमा बाढीले एक घर बगायो, ४५ घर जोखिममा

NAWALPUR TIMES

म्याग्दीमा बाढीले एक घर बगायो, ४५ घर जोखिममा
Badi lee Ghar bagayyo 20210823043129

बेनी : म्याग्दीको बेनी –३ दूधेखोलामा आइतबार बिहान आएको बाढीले एक घर बगाएको छ। ४५ घरधुरीको बसोबास रहेको दूधेखोलाको बस्ती बाढी र कटानको जोखिममा परेको छ।

 

भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनुका साथै जोखिम बनाएको हो। बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको वडा सदस्य गेमप्रसाद घर्तिले बताए।

‘नारायण पुन र तिलाराम थापाको घर उच्च जोखिममा छन्’, उनले भने, ‘दूधेखोलाको दायाँ र बायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ।’ नारायण पुनको गोठमा बाँधेको दुहुना भैंसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ।

करिब सात सय मिटरको दुरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ। कोप्रेतर्फ पनी कटानको जोखिम छ। बाढीका कारण बेनी नगरपालिका र मंगला गाउँपालिकाको चार वटा वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरंजा सडक अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाडा र बरंजा सिधा यातायात सम्पर्क बिच्छेद भएको छ। सो क्षेत्रका कृषकलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ। खानेपानी र सिचाईको पाइप बाढीले बगाएको छ। हल्लेगौडाको पहिरोका कारण दूधेखोला–हल्लेगौडा–डाडाखानी हुँदै भकिम्ली जोड्ने सडक गत जेठ देखि नै अवरुद्ध छ।

दूधे खोलाको बाढीले म्याग्दी खोला बग्ने ठाउँलाई साधुरो बनाउँदा तलाउ बनेको छ। तलाउका कारण चुत्रेनीमा डुवान र कटानको जोखिम बढेको छ। राती १ बजे भूकम्प जाँदाको जस्तो कम्पन आएपछि घर बाहिर निस्किंदा बाढी आएको देखेको र सुरक्षित ठाउँमा गएर रात कटाएको स्थानीय ओमबहादुर घर्तिमगरले बताए।

स्थानीयबासीहरुले जोखिमयुक्त घरका सामान सारेका थिए। घरबासविहीन बनेका दिपा पुनका परिवारलाई खाली घरमा सारिएको स्थानीय ज्ञानबहादुर घर्तिले बताए। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा सुरक्षाकर्मीहरुको टोली बिहान घटनास्थल पुगेको छ।

बाढीले पुर्‍याएको क्षतिको बिबरण संकलन, बिस्थापितको व्यवस्थापन, जोखिममा रहेका घरपरिवारलाई स्थानान्तरण र थप जोखिमको अध्ययन सुरु गरेको प्रहरी निरीक्षक केसीले बताए। म्याग्दी र दूधेखोलाको दोभानमा अवस्थित दूधेखोलामा केही वर्षयता बस्ती विकास हुँदै गएको छ। बाढी नियन्त्रण यहाँको चुनौति बनेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology