‘ओलीको अध्यक्ष खानेलाई मेरो शुभकामना छ, मचाहिँ जान्नँ’

NAWALPUR TIMES

‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’ यसरी आफूपक्षीय स्थायी कमिटी बैठकमा माधव नेपालले सोमबार दोस्रो अध्यक्ष पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू तनावग्रस्त देखिए ।

माधवचाहिँ बोलिरहे, ‘…तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानुस् । अध्यक्ष खान मात्रै अध्यक्ष हुने हो भने त्यसको कुनै अर्थ छैन । त्यसैले तपाईंहरूले नै छान्नुस्, केपीको अध्यक्ष हुन को जाने ? अमृतजी (बोहोरा), मुकुन्द (न्यौपाने) यहीँ हुनुहुन्छ । भीम रावल जाने भए पनि जानुस् वा अष्ट कमरेड…जो गए पनि हुन्छ ।’

माधवले अगाडि भने, ‘के त्यसो गर्न केपी ओली साँच्चै तयार छन् ? मलाई त त्यस्तो लाग्दैन । पाँच दलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य गराउने, चुनावमा जाने भएपछि हामीलाई एमालेभित्र टिकट बाँडफाँडको क्रममा बिचल्ली पारिदिने, यही होइन केपी ओलीले चाहेको ?

अनि, उनको मक्सद यस्तो छ भन्ने जान्दाजान्दै तपाईं दोस्रो अध्यक्ष पाइने भयो भनेर ‘खुशखबरी’ सुनाउन हतारिने ? को जानुहुन्छ त्यो अध्यक्ष खान जानुस्, मेरो शुभकामना छ । मचाहिँ जान्नँ ।’ उनले भीम रावलसहितका कार्यदल सदस्यहरूतिर हेर्दै पाँच औँला ठाडो पारेर भने, ‘अब बढीमा एक हप्ता कुरिन्छ…एक हप्ता, बुझ्नुभयो नि ।’ अर्थात्, हरेक राजनीतिक तथा प्रशासनिक निर्णयमा दुई हस्ताक्षर मान्य हुने कुराको निश्चितता हुने कि नहुने जवाफनिम्ति अब एक हप्ता मात्र पर्खिन सकिने, नत्र केपीपक्षसँग वार्ताको ढोका बन्द गर्ने उहाँको अडान थियो । यो समाचार जनआस्था साप्ताहिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology