चितवन – चितवनको भरतपुर महानगरपालिका १७ मा मृत भेटिएका नेपाली सेनाका हुद्धा भरत गुरुङको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न उनकै साथी भरतपुर– २१ का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।
उनलाई सोही दिन दिउँसो ४ बजे भरतपुर– २० चनौलीबाट पक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय चितवनले जानकारी दिएको छ । मृतक गुरुङ र पक्राउ परेका ढकाल नेपाली सेनाको दि फेमस महेन्द्र दलमा कार्यरत थिए । ढकाल सैनिक जवान हुन् ।
पैसाको लागि ढकालले गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीले बताए । पक्राउ परेका ढकाल २ गते मृतक गुरुङको ग्लोबल बकको खाली चेक बोकेर चितवन आएको र आँफैले मृतक गुरुङको हस्ताक्षर गरेर ९ लाख रुपैयाँ झिकेको एसपी अधिकारीले बताए । उनले एक लाख रुपैयाँ आँफैले राखेको र ६ लाख श्रीमतीलाई तथा २ लाख बुवालाई दिएका थिए ।
प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल, एसएमजी बन्दुक तथा गुरुङको चेकबाट निकालेको ९ लाख रुपैयाँ बरामत गरेको छ ।
घटनामा प्रयोग भएको मोटरसाइकल
यस्तो छ घटनाको नालीबेली
मृतक गुरुङ गत २०७७ साल माघ महिनामा लेबनानमा शान्ति सेनामा गएर फर्किएका थिए । शान्ति सेनाबाट आएको पैसाले उनले भरतपुरको शारदानगरमा १० धुर जग्गा किन्नका लागि बैना गरेका थिए । बैनाका लागि उनले २ लाख ५० हजार रुपैयाँ समेत जग्गाधनीलाई दिइसकेका थिए ।
साउन २ गते ढकाल मृतक गुरुङको खाली चेक बोकेर चितवन आए । चितवन आएपछि ढकालले चेकमा आँफैले मृतक गुरुङको हस्ताक्षर गरेर ३ गते नवलपुरको गैंडाकोटस्थित ग्लोबल आइएमई बैंकबाट ९ लाख रुपैयाँ झिके । ९ लाख मध्ये १ लाख रुपैयाँ उनले आँफैले राखे । ६ लाख आफ्नी श्रीमतिलाई आफ्नो जागिरको एकमुष्ट रकम भन्दै दिए भने २ लाख बुवालाई दिए ।
५ गते मृतक गुरुङले जग्गा पास गर्नका लागि चितवन आउनुपर्ने भएकोले काठमाडौं लिन आउनु भनेर ढकाललाई फोन गरेर बोलाए । ढकाल गुरुङलाई लिन काठमाडौं गए । उनी मृतक गुरुङलाई काठमाडौंबाट लिएर चितवन फर्किए । ६ गते उनीहरु खाजा खान भनेर गए । सोही दिन राति ढकालले मृतक गुरुङलाई अत्याधिक मादक पदार्थ खुवाए ।
अत्याधिक मादक पदार्थ खुवाएर उनले रातभरी मृतक गुरुङलाई भरतपुरका बिभिन्न स्थानमा घुमाए। भोलिपल्ट ७ गते बिहान उनीहरु घटनास्थल भरतपुर १७ स्थित सिमल डाँडा पुगे । ढकालले आफुलाई प्रहरीबाट बचाउन गुरुङको हत्या गरेपछि प्रहरीले आफुलाई पक्राउ नगरोस् भनेर कतै कुनै होटलमा नराखी रातभरी मोटरसाइकलमा घुमाएको अनुसन्धानले देखाउँछ ।
७ गते बिहान ५ बजे घटनास्थलमा पुगेपछि पिसाब फेर्ने बाहानामा ढकाल मोटरसाइकलबाट उत्रिए । मृतक गुरुङ भने फेरि मोटरसाइकलमा नै बसे । त्यसपछि ढकालले आफ्नो झोलामा रहेको एसएमजी बन्दुक निकालेर गुरुङलाई सुट गरे । मृतक गुरुङ भुँईमा लडेपछि ढकालले उनलाई घटनास्थलबाट करिब ७ मिटर पर पानीमा लगेर फाले।
त्यस पछि उनले आफ्नो जुत्ता, कपडा र मोटरसाइकलमा लागेको रगत पानीले धोए र दिदीको घरमा गएर फेरि साबुन पानीले धोए । त्यसपछि उनले आफुसँग रहेको हतियार भरतपुर ८ स्थित बिसहजारी ताल जाने सडक किनारको झाडीमा लगेर फाले र उनले सौराहाचोकस्थित फुपुको घरमा गएर मोटरसाइकल, झुत्ता र कपडा फेरि धोए र मृतक गुरुङका लागि किनेको जुत्ता आफुले लगाए ।
सोही दिन मोटरसाइकल कतै प्रहरीले देख्यो कि भन्ने डरले उनले आफ्नो मोटरसाइकल भाई नाता पर्नेको घरमा छोडे र भाई नाता पर्नेको मोटरसाइकल लिएर निस्किए । सोही दिन दिउँसो उनी पक्राउ परे ।
८ घण्टामा नै दोषी पक्राउ
प्रहरीले घटना घटेको करिब ८ घण्टामा नै दोषीलाई पक्राउ गरेको छ । गुरुङको हत्यामा संलग्न भरतपुर– २१ का गंगाधर ढकाल ८ घण्टा भित्रै पक्राउ परेका हुन् ।
७ गते बिहान ८:३० बजे प्रहरीलाई घटनास्थलबाट स्थानीयले फोन गरेर पुरुष व्यक्तिको शव भेटिएको बारे जानकारी गराएका थिए । लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न ढकाललाई दिउँसो ४ बजे पक्राउ गर्यो । प्रहरीको टिमको अथक प्रयासले छोटो समयमा नै दोषीलाई पक्राउ गर्न सफल भएको चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीको भनाइ छ ।
घटनामा प्रयोग भएको एसएमजी बन्दुक र बैंकबाट झिकेको पैसा
पक्राउ परेका ढकालसँग सोधपुछका क्रममा उनले आफुलाई निर्दोष प्रमाणित गर्न खोजे पनि थप सोधपुछका क्रममा उनले आफ्नो संलग्नता स्वीकार गरेको एसपी अधिकारीले बताए । उनीसँगको सोधपुछ पछि प्रहरीले सोही घटनामा प्रयोग भएको मोटरसाइकल, एसएमजी बन्दुक तथा गुरुङको चेकबाट निकालेको ९ लाख रुपैयाँ बरामत गरेको थियो ।
कानुन मिच्दैनौँ तर हामीलाई न्याय चाहियो : भतिजी
मृतक गुरुङकी भतिजी माधुरी गुरुङले सोझोपनको फाईदा उठाउदै ढकालले गुरुङको हत्या गरेको बताएकी छिन् । उनले दोषी माथि कडा भन्दा कडा सजायको माग गरेकी छिन् ।
‘आफ्नो मान्छे गुमाएका छौं, हामीलाई न्याय चाहिन्छ, उनले भनिन्, हामीलाई सुट गर्न त मन छ नि तर हामी कानुन अनुसार जान्छौं । हत्यारालाई कडा भन्दा कडा सजाय हुनुपर्छ ।’
मृतक गुरुङका १२ वर्षीय छोरा छन् । श्रीमतिसँग भने सम्बन्धबिच्छेद भइसकेको छ । जग्गा किनेर घर बनाएपछि उनी अर्को बिहे गर्ने योजनामा रहेको भातिजी गुरुङले बताईन् । यटुजेट समाचार बाट
प्रकाशित : २०७८ साउन ९ गते ९:२३
Facebook Comment