नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि…

NAWALPUR TIMES

नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि…
collage 23 f9W1mn9hAJ

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यससम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशन प्रसारण गरेको सरोकारवालाले बताएका छन् ।

युरोपोर्टर अनलाइनको मे १८, २०२१ को संस्करणमा कोलिन स्टेभेन्सले नेपाल–चीन सिमानाको ६० नम्बर पिलर हराएको विषयमा समाचार प्रकाशित गरेका छन् । त्यसअघि, अन्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत सोसम्बन्धी समाचार प्रकाशित गरेका थिए । उल्लेखित अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ६० नम्बर पिलर हराएपछि चीनले १०.५ मिटर अगाडि नेपालपट्टि नयाँ पिलरसहित झन्डा गाडेको समाचार प्रकाशित गरेका छन् ।चीन तिब्बतको टिङ्रीस्थित फलाक र दोलखा लामाबगरको ङयाङलुङ खोला किनारमा रहेको ६० नम्बर सीमा पिलर दुई वर्षको आसपास बाढीले बगाएको कारण हराएको हुन सक्ने स्थानीयको भनाइ छ । २०७४ सालको स्थानीय निर्वाचनसम्म ६० नम्बर पिलर रहेको भए पनि अहिले सो पिलर हराएको स्थानीयले बताए ।

सो पिलर हराएपछि अहिले चीनले करिब १० मिटर वर नेपालपट्टि भीरको एउटा ढुङ्गामा चाइनिज अक्षरले लेखेर ६० नम्बर पिलर स्थापना गरेको छ । पहिले पिलर भएको ठाउँमा लेख्ने कुनै ढुङ्गा नभएकाले केही वर दक्षिणतिर रहेको ढुङ्गामा अस्थायी रुपमा ६० नम्बर पिलर लेखिएको हुन सक्ने स्थानीय बताउँछन् । सीमा भएको ङयाङलुङ खोलाआसपास दुवैपट्टि निकै टाढासम्म पनि बस्ती नभएकाले चीनले नियतवश नेपालको सीमा मिचेर १० मिटर वर नेपालपट्टि ६० नम्बर पिलर बनाएको आशङ्का गर्ने अवस्था नभएको स्थानीयको भनाइ छ ।नेपाल–चीन सीमाको ६० नम्बर पिलर पुग्न नेपालपट्टि बस्ती भएको लामाबगरबाट झन्डै दुई दिन लाग्छ भने उक्त स्थानबाट चीनको फलाक पुग्न ३÷४ घण्टा लाग्छ । चीनको तिब्बतमा पर्ने फलाकमा उनीहरूको सीमा कार्यालय र सानो बजार रहेको छ । सवारीसाधनमा फलाकबाट झन्डै ३÷४ घण्टाको यात्रापछि मात्र तिब्बतको टिङरी बजार पुग्न सकिने लामाबगरका स्थानीय बताउँछन् ।

माथिबाट एकधारमा बगेको ङयाङलुङ खोला ६० नम्बर पिलर भएको ठाउँमा आइपुगेपछि दुईधार बनेकाले उक्त पिलर बगाएको र अहिले उक्त ठाउँमा पिलर राख्ने अवस्था नै नभएको स्थानीयको भनाइ छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology