चिनियाँ ठेकेदारले सम्झौताअनुसार काम नगरेको भन्दै दाउन्‍नेमा प्रदर्शन

NAWALPUR TIMES

चिनियाँ ठेकेदारले सम्झौताअनुसार काम नगरेको भन्दै दाउन्‍नेमा प्रदर्शन
1619535600539

नारायण शर्मा/पूर्वीनवलपरासी — महेन्द्र राजमार्ग विस्तारको ठेक्का लिएको चिनियाँ ठेकेदारले सम्झौताअनुसार काम नगरेको भन्दै स्थानीयले विरोधस्वरुप दाउन्नेमा चक्काजाम गराएका छन् । बुटवल नारायणगढ खण्डको दाउन्नेमा सडक भत्किएर धूलो र दुर्घटनाको जोखिम बढेको भन्दै चिनियाँ ठेकेदारको ध्यानाकर्षण गर्न स्थानीयले मंगलबार साँझ ६ बजेबाट चक्काजाम गरेका हुन् ।

दाउन्नेको १४ किलोमिटर खण्डमा धूलोले बसिखान नसकिएकोले चक्काजाम गर्नु परेको स्थानीयले बताए । ‘धूलो उडेर सास फेर्न पनि गाह्रो भयो,’ स्थानीय कान्तिपुर होटलका संचालक बिष्णु गुरुङले भने, ‘पटक-पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले बाध्य भएर चक्काजाममा उत्रिएका हौं ।’ राजमार्गको दाउन्नेमा सडक अवरुद्ध गरिँदा पूर्वपश्चिम हिँडेका सैयौं गाडी अलपत्र परेका छन् ।

नेपाल सरकार र चिनियाँ ठेकेदार कम्पनीबीचको सम्झौतामा सडक विस्तार गर्दा धूलो उडाउन नपाइने, खाल्टाखुल्टी २४ घण्टाभित्र पुर्न पर्ने सम्झौता छ । सडक निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड ( सिएससीइसी) लाई धूलो नउडाउने गरी काम गर्न पटक-पटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले स्थानीय विरोधमा उत्रिएको बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए ।

उनले सडकको खाल्टा पुर्न, धूलो उड्ने स्थानमा पानी हाल्न जिल्ला प्रशासन र गाउँपालिकामार्फत पटक-पटक अनुरोध गर्दा बेवास्ता भइरहेको बताए । बुटवल-नारायणगढ खण्डको ११४ किलोमिटर सडक फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनीले १७ अर्बमा ठेक्का पाएको हो । काम थालेको २ वर्षको अवधिमा ४ प्रतिशतमात्र काम भएको छ ।

पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापा सडक निर्माणका क्रममा धूलो नउडान, नियमित पानी हाल्न, नाली सफा गर्ने, धूलोरहित बनाउन सडक आयोजना प्रमुख रमेश दृष्टि समेतलाई राखेर मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा कुरा गरिएको जानकारी दिए ।

तस्बिर सौजन्य : बुद्ध गुरुङ

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology