“नेपालमा विपद् जोखिम सुशासन” सम्बन्धी निबन्ध प्रतियोगिताको नतिजा घोषणा

NAWALPUR TIMES

विपद् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय कार्यमञ्चको सचिवालय प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (DPNet-Nepal) ले अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस २०२० को अवसरमा आयोजना गरेको राष्ट्रव्यापी निबन्ध प्रतियोगिताको नतिजा आज भर्चुअल जुम मिटिङ्ग मार्फत घोषणा गरेको छ।

“नेपालमा विपद् जोखिम सुशासन” शिर्षकमा आयोजना गरिएको उक्त निबन्ध प्रतियोगितामा प्रथम स्थानमा रितेश पन्थी, द्धितीय स्थानमा प्रकाश भण्डारी, तृतीय स्थानमा सबिन कोइराला तथा चौथोमा प्रज्जवल थापा र सजना सुनारको निबन्धले सान्तवना स्थान हासिल गरेको थियो।

प्रथम, दोस्रो, तेस्रो र चौथो विजेतालाई पुरस्कार स्वरूप क्रमशः १५ हजार, १२ हजार, ९ हजार र ६ हजार तथा सान्तवना पुरस्कार स्वरूप ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ। पुरस्कार राशि बिजेताको बैँक खाता तथा प्रमाणपत्र कार्यालयमा स्वयं उपस्थित भई तथा बिभिन्न माध्यम मार्फत बिजेताको घरसम्म पुर्‍याउने व्यवस्था गरिएको निबन्ध प्रतियोगिताको निर्णायक समितिमा संयोजक मुरारी बिनोद पोखरेलले बताउनुभयो।

“नेपालमा विपद् जोखिम सुशासन” शिर्षकमा आयोजना गरिएको निबन्ध प्रतियोगितामा मंसिर १५ गते भित्र बिभिन्न सम्बन्धन प्राप्त विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूमार्फत २ हजार शब्द नबढाई निबन्ध लेखि संस्थाको ईमेलमा पठाउन भन्दै वेबसाईट तथा सामाजिक सञ्जाल र ईमेल मार्फत सूचना आव्हान गरिएको थियो।

देश तथा बिदेश स्थित विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत  विद्यार्थीहरूबाट जम्मा १६ निबन्ध प्राप्त भएका थिए। प्राप्त निबन्धहरूमध्ये १४ जनाको निबन्धलाई निर्णायक मण्डलले बिभिन्न ३ मुख्य सूचकहरू: नेपालमा विपद् जोखिम सुशासनको अवस्था र आफ्नो बुझाई, नेपालमा विपद् जोखिम सुशासनका लागि नविनतम दृष्टिकोण, मौलिकता सृजना र बिषयवस्तु केन्द्रित रही लेखिएका निबन्धहरू  मध्येबाट उत्कृष्ट पाँच छनोट गरेको थियो।

निबन्धहरूमध्ये २ जना कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थी रहेकोले उहाँहरूको निबन्ध प्रतियोगितामा समावेश नगरिएको प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (DPNet-Nepal) की कार्यक्रम संयोजक लुना खड्काले बताउनुभयो।

निबन्ध प्रतियोगिताको निर्णायक समितिमा संयोजक मुरारी बिनोद पोखरेल, डा. राजु थापा तथा प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (DPNet-Nepal) की कार्यक्रम संयोजक लुना खड्का सहितको ३ सदस्यीय समिति रहेको थियो।

भर्चुअल निबन्ध प्रतियोगिता घोषणा कार्यक्रमको अध्यक्षता प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (DPNet-Nepal) का अध्यक्ष सूर्यबहादुर थापाले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल तथा प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (DPNet-Nepal) मा कार्यरत कर्मचारी र पूर्व अध्यक्ष तथा पूर्व पदाधिकारी लगायत उत्कृष्ट पाँच प्रतियोगिको उपस्थिति रहेको थियो।

प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (DPNet-Nepal) सन् १९९६ मा स्थापना भै २००७ बाट विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्य गर्दै आईरहेको गैर नाफामूलक संस्था हो।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology