बारपाकका बाघेले गरे आत्मसमर्पण

NAWALPUR TIMES

बारपाकका बाघेले गरे आत्मसमर्पण

गोरखा : बारपाकमा राष्ट्रपति आउने कार्यक्रमको पूर्व सन्ध्यामा हातहतियारसहित हुलगंगा र तोडफोड गरेका बाघे (धनबहादुर घले)ले चार वर्षपछि आत्मसमर्पण गरेका छन्।

कैद सजाय फैसला भएर फरार रहेका बाघेले सोमबार साँझ आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ। हातहतियार तथा खरखजना मुद्धामा नौ महिना कैद र ८० हजार रुपैयाँ जरिबाना तिर्ने फैसला भएका बारपाक गाउँपालिका १ का घलेले मंगलबार प्रहरी समक्ष आत्मसर्मण गरेको एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।

२०७३ मंसिर २० गते जिल्ला प्रशासन कार्यालयले सो फैसला गरेपछि उनी प्रहरीको खोजीको सूचीमा थिए। गत २०७२ जेठ २२ गते प्रहरीले ७६०० नम्बरको चार राउण्ड गोली भएको स्वचालित पेस्तोल एक थान, तीन राउण्ड गोली भएको कटुवा पेस्तोल एक थान, थ्रिनटथ्रीको तीन राउण्ड गोली घलेको साथबाट प्रहरीले बरामद गरेको थियो।

जेठ २४ गते उनीविरुद्ध हातहतियार खरखजना शिर्षकमा मुद्धा दायर भएको थियो। त्यसयता फरार रहेका घलेले सोमवार साँझ आत्मसमर्पण गरेपछि पिसिआर जाँच गरेर कारागार चलान गर्ने तयारी भएको प्रहरी एसपी गुरुङले बताए। ‘पिसिआर रिपोर्ट नेगेटिभ आएपछि कारागार चलान गर्नेछौँ’ उनले भने ‘अहिले हिरासतमा राखेका छौँ।’

चारवर्षअघि घले हातहतियारसहित बारपाकमा खुलेआम हिड्ने गरेको सूचना पाएपछि पक्राउ गर्न गएको प्रहरीलाई स्थानीय अवरोध गर्दा उनी भागेका थिए।
प्रहरीले हतियार नियन्त्रणमा लिएको थियो। अभियुक्त नियन्त्रणमा लिने क्रममा तत्कालिन समयमा प्रहरीमाथि आक्रमण भएको थियो भने प्रहरी सवार गाडीमाथि उनका समर्थकले तोडफोड गरेका थिए।
सो घटनाका कारण तत्कालीन राष्ट्रपति भूकम्पको केन्द्रविन्दू बारपाकको अवलोकन गर्न जाने कार्यक्रम असुरक्षाको कारण स्थगित भएको थियो। त्यसपछि प्रहरीले पटक-पटक उनलाई पक्राउ गर्न प्रयास गरेपछि सफल हुन सकेको थिएन। निरन्तरको प्रयासपछि घले कैद सजाय भुक्तान गर्न आफैँ आएका एसपी गुरुङले बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology