कांग्रेस प्रविधिको प्रयोग बढाउँदै, क्रियाशील सदस्यको विवरण अब जिल्लाबाटै अनलाइनमा

NAWALPUR TIMES

कांग्रेस प्रविधिको प्रयोग बढाउँदै, क्रियाशील सदस्यको विवरण अब जिल्लाबाटै अनलाइनमा
congress flag1

काठमाडौं– नेपाली कांग्रेसका क्रियाशील सदस्यको विवरण अब जिल्ला आफैंले सफ्टवेयरमा इन्ट्री गर्न सक्ने भएका छन्। जिल्ला–जिल्लाबाट फाइल मगाउँदा र त्यसलाई इन्ट्री गर्दा लामो समय लाग्ने भन्दै जिल्ला कार्य समितिले नै सफ्टवेयर प्रणालीमा इन्ट्री गर्न सक्ने प्रणाली कांग्रेसले अपनाउन लागेको हो।

त्यसका लागि कांग्रेस केन्द्रीय कार्यालयमा दीपक विष्टको नेतृत्वमा इन्जिनियरहरुको टोलीले काम गरिरहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘अहिले क्रियाशील सदस्यता बढाएर १० लाख पुर्याएका छौं। ती १० लाख फाराम जिल्लाबाट आउँदा र टाइप गर्दा तीन महिना लाग्ने भयो। त्यसैले जिल्लाबाटै नै डाटा इन्ट्री गर्न सकिने प्रणालीको विकास गरिरहेका छौं,’ उनले भने, ‘हामीलाई महाधिवेशन गर्न समयको चाप पनि छ। त्यसैले कांग्रेसको वेबसाइटमै लिंक हुने गरी जिल्ला आफैंले क्रियाशील सदस्यताको विवरण भर्न सक्नेछन्।’

उनका अनुसार अहिले क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसकेका जिल्लाहरुलाई समेत केही दिन फाराम नपठाउन भनिएको छ।

‘हाम्रो वेबसाइटमा ७७ जिल्ला, १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश निर्वाचन क्षेत्र र ७५३ स्थानीय तहको सब–डोमेन छ। त्यसकै आधारमा नयाँ प्रणालीको विकास हुन लागेको छ,’ उनले भने, ‘यसरी काम गर्दा समय बचत हुन्छ। टाइप गरिरहनुपर्ने झन्झटसमेत अन्त्य हुन्छ।’

सफ्टवेयर विकास गरिरहेको इन्जिनियरको टोलीले बुधबार बेलुकासम्म धेरै काम सकिने र १–२ दिनभित्रै सबै काम सकिने बताएको पौडेलले जानकारी दिए। उनका अनुसार हालसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमा पठाएको छ।

चितवन, पाल्पा र गुल्मीले फाराम पठाउन केन्द्रीय कार्यालयमा सम्पर्क गरेका छन्। तर उनीहरुलाई केही दिन होल्ड गर्न भनिएको पौडेलले बताए।

नेपाली कांग्रेसका देशभर पाँच लाख क्रियाशील सदस्य छन्। आगामी महाधिवेशनसम्ममा यो संख्या १० लाख पुर्‍याउने कांग्रेसले निर्णय गरिसकेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology