आज बालाचतुर्दशी : कोरोना कहरले सुनसान छ्न धार्मिक स्थल

NAWALPUR TIMES

आज बालाचतुर्दशी : कोरोना कहरले सुनसान छ्न धार्मिक स्थल
09 17 416242353pashupatinath mandir 4

काठमाडौं। आज बालाचतुर्दशी, हिन्दु धर्मवलम्बीले धुमधामले मनाउने यो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा सतबीज (सतबीउ) छरिँदैछ।

 

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान (आज) सतबीज छरी यो पर्व मनाइँन्छ।

 

सतबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्नाले पितृहरू कहिल्यै भोको बस्न नपर्ने धार्मिक विश्वास रहिआएको छ। आफ्ना पितृहरुको उद्धार हुने विश्वासमा यो पर्व मनाउने गरिन्छ।

 

मार्गकृष्ण त्रयोदशीको साँझ पशुपतिनाथ लगायत देशका अन्य क्षेत्रमा रहेका शिवालयमा दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै सतबीज रोप्ने प्रचलन छ।

 

 

 

आफ्नो परिवारभित्रका दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ।

 

पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान सतबीज भने छर्न सकिने कोषले जनाएको छ।

 

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यस वर्ष कोरोना महामारीको सन्त्रासका कारण यी ठाउँ सुनसान रहे।

 

बाला चतुर्दशीमा लाखौं भक्तजन पशुपतिमा आउने गरेकाले संक्रमणको जोखिमका कारण यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए।

 

पशुपति, देवघाटलगायतका ठूला तीर्थाटनहरूमा मेला नलाग्‍ने भएपछि श्रद्धालुहरूले नजिकैको शिवालयमा दीपदान गरेका छन्।

 

बोलीचालीको भाषामा सद्‍बीउ छर्ने भनिने सतबीज छर्नाले पितृहरू कहिल्यै भोको बस्न नपर्ने धार्मिक विश्वास रहिआएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology