चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाका रंगीन तस्बिर

NAWALPUR TIMES

चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाका रंगीन तस्बिर
moon3 SxY9l5KrvK

चीनको चांग ई–फाइभ मून मिसनले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर पठाएको छ । चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा आफ्नो खुट्टा नजिकैदेखि क्षितिजसम्मको तस्बिर खिचेको छ ।

चन्द्रमाबाट माटो र ढुङ्गाका नमूना पृथ्वीमा पठाउनका लागि तयार पारिएको यो मिशनले मंगलबार सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको थियो ।

अवतरण गरेलगत्तै यसले चन्द्रमाको सतहबाट नमूना संकलन गर्ने काम सुरु गरेको छ । यसलाई रिटर्न मोड्युलसम्म पुर्याउने सुरुवात बिहिबारदेखि गर्न सकिनेछ ।

यो काम केही दिनसम्म मात्रै गर्न सकिनेछ । त्यसपछि नमूनालाई चन्द्रमाको कक्षमा पहिलेदेखि नै रहेको सर्विस ह्विकल र रिटर्न मोड्युलसम्म पुर्याइनेछ जसले यसलाई धर्तीमा फिर्ता पठाउनेछ ।

योजनाका अनुसार रिर्टन मोड्युल मंगोलियाको भित्री इलाकामा सिजिवांगको घाँसे मैदानमा ल्याण्ड गर्न सक्छ ।

चांग ई–फाइभ मिशनअघि चीनले  थप दुई मून मिसन पठाएको थियो, सन् २०१३ मा चांग ई–थ्री र सन् २०१९ मा चांग ई–फोर मून मिशन । यी दुबैमा एक ल्याण्डरका साथै एउटा सानो मून रोभर समावेश गरिएको थियो ।

यी दुईको तुलनामा चांग ई–फाइभ जटिल मिशन हो ।

८.२ टनको चांग ई–फाइभलाई एक अन्तरिक्षयानमार्फत् २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचांग स्टेशनबाट छोडिएको थियो ।

केही दिन अघि यो मिशन चन्द्रमामाथि पुग्यो र यसले आफूलाई चन्द्रमाको कक्षमा स्थापित गर्यो र चन्द्रमाको फन्को लगाउन थाल्यो । पछि यो दुई टुक्रामा बाँडियो – पहिलो सर्भिस ह्विकल र रिटर्न मोड्युल जुन चन्द्रमाको कक्षमा नै रोकिइरह्यो र दोस्रो मून ल्याण्डर जुन बिस्तारै चन्द्रमाको सतहतर्फ बढ्न थाल्यो ।

 

मून ल्याण्डर चन्द्रमाको सतहमा मुन्स रुमकेरमा उतारियो जुन चन्द्रमाको ज्वालामुखीयुक्त पहाड नजिकैको एक स्थान हो ।

चन्द्रमाको सतहबाट माटो र ढुङ्गा जम्मा गर्नका लागि पठाइएको चांग ई–फाइभ मून ल्याण्डरमा क्यामरा, रडार, एउटा ड्रिल र स्पेक्ट्रोमिटर फिट गरिएको छ । यी सबैको प्रयोग गरेर यसले चन्द्रमाको सतहबाट माटोको उत्कृष्ट नमूना जम्मा गर्नेछ ।

चांग ई–फाइभभन्दा अघि  ४४ वर्ष अघिदेखि अहिलेसम्म मून मिशनको क्रममा अमेरिकी अपोलो अंतरिक्षयानबाट चन्द्रमामा गएका अंतरिक्षयात्री र सोभियत रुसको रोबोटिक लूना कार्यक्रमले चन्द्रमाको सतहभन्दा करिब ४ सय किलोमिटर भित्रसम्मको माटो र ढुङ्गा संकलन गरेका छन् तर तमिध्ये धेरै मिसनमा अंतरिक्षयात्री समावेश थिए ।

चन्द्रमाबाट ल्याइएका सबै नमूना करिब तीन अर्ब वर्ष पुराना हुन् ।

मून्स रुमकेरबाट ल्याइएको नमूनाको उमेर १.२ देखि १.३ अर्ब वर्षको हुने अनुमान गरिएको छ । अर्थात् ती पहिला ल्याइएका नमूनाभन्दा नयाँ हुने अपेक्षा गरिएको छ । जानकारका अनुसार यसले चन्द्रमाको भूवैज्ञानिक इतिहासबारे थप जानकारी पाउन सकिनेछ । – बीबीसी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology