विवाह गर्न नांगै लड्ने पुरूष!

NAWALPUR TIMES

विवाह गर्न नांगै लड्ने पुरूष!
1604031244128

अफ्रिका महादेश संसारकै लागि एउटा अनौठो दुनियाँ हो। यस महादेशका कतिपय मुलुकमा चलिआएको चलन, संस्कृति रहनसहन, खानपानजस्ता कुरा अन्य देशका मानिसका लागि अचम्मको कुरा हुन जान्छ।

 

इथियोपियामा अनौठा मुर्सी जाति एकातिर छन् भने अर्कोतिर सुरी समुदाय। सुरी समुदायको सुन्दरताको परिभाषा अन्य मानिसका लागि अचम्मलाग्दो छ।

 

यो समुदायका पुरूषले विवाह गर्नका लागि लडाइँ जित्नुपर्छ। आफ्नो शक्ति प्रदर्शन गर्नुपर्छ। यसरी बल प्रदर्शन गर्दा कहिलेकाहीँ त ज्यानै जान पनि सक्छ, ज्यान जाँदा कसैले दुःख मान्दैन।

 

इथियोपिया अफ्रिकाको सिङस्थित एक भूपरिवेष्ठित मुलुक हो। यसलाई संघीय लोकतान्त्रिक गणराज्यको नामबाट चिनिन्छ। सिङ पूर्वी अफ्रिकाको एक प्रायद्वीप हो। यो अरब सागरमा सयौं किलोमिटरसम्म फैलिएको छ र अदनको खाडीको दक्षिणी किनारामा पर्छ। यसको मानचित्र हेर्दा सिङजस्तै देखिने हुनाले यसलाई सोही नाम दिइएको हो।

 

इथियोपिया सुडानको दक्षिण पूर्व, इरिट्रियाको दक्षिण, जिबुटी तथा सोमालियाको पश्चिममा पर्छ। केन्याबाट उत्तर तथा दक्षिणी सुडानबाट पूर्व। यो संसारकै सबैभन्दा बढी जनसंख्यायुक्त भूपरिवेष्ठित मुलुक हो।

 

सुन्दरताको अलग परिभाषा

 

सुरी जनजातिको परम्परा अनौठो हुनुका साथै हजारौं वर्ष पुरानो छ। त्यहाँ विवाह गर्ने तरिका अचम्मको छ। सुरी जनजातिका मानिस ठूलो र चौंडा ओँठ हुनुलाई सुन्दरताको निशानी मान्छन्। त्यहाँका स्त्रीलाई सुन्दर देखाउन ओँठको तल्लो भाग र दाँत भाँचिदिइन्छ।

 

त्यसपछि भाँचिएको वा काटिएको ठाउँमा काठ या माटोको १६ इन्चको टुक्रा राखिन्छ। समयक्रमसँगै त्यो टुक्राको आकार पनि बढाइन्छ, जसले स्त्रीको ओँठ चौंडा र ठूला बन्छ र उनी सुन्दर देखिन्छिन्।

 

अनौठो त के छ भने, महिलाको ओठमा लगाएको टुक्रा (प्लेट)को आकार जति ठूलो हुन्छ, त्यति नै उनको पितालाई दाइजोमा गाई मिल्छ। छोटो प्लेट हालिएकी स्त्रीका पितालाई ४० वटा र ठूलो हालिएकीलाई ६० वटा गाई दिने चलन छ।

 

पुरूषले विवाह गर्न कठिन

 

सुरी जनजातिका युवकले विवाह गर्नु सहज काम होइन। विवाह गर्नका लागि लडाइँ जित्नुपर्छ। दुई पक्षबीचको भिडन्तमा जसले लडाइँ जित्छ, उसैले केटी पाउँछ। विवाह गर्ने तरिका पनि अनौठो छ। पत्नी पाउनका लागि अन्तिम स्वाससम्म लड्नुपर्छ। यो परम्परालाई ‘डोँगा’ भनिन्छ, जसमा दुई पक्ष लड्छन्।

 

यो लडाइँ यति खतरनाक हुन्छ कि, कहिलेकाहीँ त ज्यानै जाने गर्छ। त्यहाँका आदिवासीका निम्ति ज्यानभन्दा प्रिय आफ्नो परम्परा जोगाउनु रहेको छ। लडाइँ लड्दा पुरूषले कपडा लगाउन पाउँदैनन्, नांगै लड्नुपर्छ। नांगो शरीरमा मैदानमा उत्रिएर लडिने लठ्ठी युद्धमा एकअर्कामाथि ज्यानै लिने ढंगमा प्रहार गर्छन्।

 

पत्नी पाउन जनावरको रगत पिउने

 

सुरी जनजातिका युवकले पत्नी पाउनका लागि जनावरको रगत पिउँछन्। मान्यता के छ भने, रगत पिउनाले शरीरमा ताकत बढ्छ। डोँगा परम्परामा त्यहाँका आदिवासी आफ्नो दैनिक खानपानमै जनावरको रगत पिउने गर्छन्। लडाइँको समयमा विशेष रूपमा पिउँछन्।

 

यस्तो लडाइँमा मानिसको ज्यानै जाने भएकाले इथियोपियन सरकारले १९९४ मा यो परम्परामा रोक लगाइदिएको थियो। तर, पछि पुनः खोलियो। यो जनजातिका महिला पर्याप्त स्वतन्त्र छन्। कुनै पनि पुरूषलाई आफ्नो पति चुन्ने अधिकार यिनलाई हुन्छ। र, सम्बन्ध तोड्ने अधिकार पनि उत्तिकै छ। (एनबीटी)

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology