जनकपुर–जयनगर रेल : सञ्चालनको भाखा फेरि सर्‍यो

NAWALPUR TIMES

जनकपुर–जयनगर रेल : सञ्चालनको भाखा फेरि सर्‍यो
1603251775932

काठमाडौं । सञ्चालनको पूर्वतयारी विना नै रेल आयात गरिएकाले जनकपुर–जयनगर रेल सञ्चालन गर्ने भाका सरेको सरैछ । असोज १ गते नेपाल ल्याई २ गते परीक्षण सञ्चालन भइसकेको उक्त रेल डेढ महीनाभित्रै अर्थात् कात्तिक १५ गते सञ्चालन गर्ने दाबी गरिएको थियो । तर, अहिले यो भाका पुस पहिलो साता सरेको छ । यसरी रेल सञ्चालनमा ढिलाइ हुँदा रेलका पार्टपुर्जा बिग्रने खतरा बढेको छ ।

कर्मचारी नियुक्तिलगायत आवश्यक प्रक्रिया पूरा गरी पुस पहिलो सातादेखि उक्त रूटमा रेल सञ्चालन गर्ने लक्ष्य राखिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । यसअघि उनले डेढदेखि २ महीनाभित्र रेल सञ्चालन हुने दाबी गरेका थिए । ३८ किलोमीटर लामो रेलवेको पूर्वाधार बनेर परीक्षण भइसके पनि कर्मचारी व्यवस्थापन गर्न नसक्दा रेललाई त्रिपाल ओढाएर राखिएको छ ।

रेल आउने निश्चित भए पनि कम्पनीले रेल ल्याउने २ दिनअघि मात्रै अर्थात् भदौ २९ गते १२९ कर्मचारी करारमा नियुक्तिका लागि सूचना जारी गरेको थियो । कम्पनीले कर्मचारी नियुक्तिका लागि अघि बढाएको प्रक्रिया विफल भएको र लोक सेवा आयोगले समेत चासो दिएपछि रेल सञ्चालनका जनशक्ति व्यवस्थापनमा थप विलम्ब हुने देखिएको छ ।

‘कर्मचारी स्थायी नियुक्ति गर्ने वा काजमा कर्मचारी राख्ने भन्ने विकल्पहरूमा छलफल भइरहेको छ,’ भट्टराईले भने, ‘स्थायी नियुक्तिमा ढिलाइ हुने भएकाले काजमा कर्मचारी खटाएर भए पनि रेल चलाउने विषयमा बिहीवार छलफल हुँदै छ ।’

सरकारले १ वर्षका लागि भारतीय जनशक्ति ल्याएर भए पनि रेल सञ्चालन गर्ने भनेको थियो ।

तर, भारतीय जनशक्तिले मासिक पारिश्रमिक चर्काे तोकेपछि सरकार पछि हटेको छ । नेपालले प्रस्ताव गरेको पारिश्रमिकभन्दा भारतीय कर्मचारीले बढी पारिश्रमिक माग गरेपछि सरकार भारतीय कर्मचारी ल्याउन पछि हटेको हो । यद्यपि रेल सञ्चालनको मुख्य टीम भने ल्याउने तयारी यथावत् नै रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा १ हप्ताअघि छलफलमा समेत भएको थियो । छलफलमा सहभागी एक अधिकारीले भने, ‘पारिश्रमिक बढी भएपछि ढिलो भए पनि नेपाली जनशक्ति नियुक्तिको प्रक्रियालाई अघि बढाउने निर्णय भएको थियो, तर कर्मचारी भर्नाका विषयमा भने प्रधानमन्त्रीले कडा निर्देशन दिनु भएन ।’

रेल सञ्चालन नभएकाले बिग्रने सम्भावना हुने भएकाले सेड्युलअनुसार रेल निर्माता कम्पनीका अधिकारीहरू समयसमयमा आएर चेकजाँच गर्ने गरेको भट्टराईले बताए । ती रेल अहिले धनुषाको इनरुवा भन्ने स्थानमा पार्किङ गरी राखिएको छ । भारतको कोन्कण रेलवे कर्पाेरेशनले बनाएका रेल नेपालले रू. ८६ करोडमा खरीद गरेको हो । रेल खरीद गर्दा १ वर्षसम्म मर्मतसम्भार र प्राविधिक समस्या समाधानको ग्यारेन्टी कम्पनीले दिएको हुँदा सोही कम्पनीका अधिकारीले परीक्षण तथा जाँच गर्नेछन् । आर्थिक अभियानमा समाचार छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology