बिपीको पदचिन्ह पहिल्याउने हो भने काँग्रेसबाट गुट हटाउनुपर्छ : डा शशांक कोइराला

NAWALPUR TIMES

बिपीको पदचिन्ह पहिल्याउने हो भने काँग्रेसबाट गुट हटाउनुपर्छ : डा शशांक कोइराला
IMG 20200824 200334

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले विपीको पदचिन्ह पहिल्याउने हो भने काँग्रेसको गुट प्रथा हटाउनुपर्ने बताएका छन्।

विपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा काँग्रेसले आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले गुट हटाएर एकजुट भएमात्र राम्रो परिणाम आउनसक्ने बताए।

‘उहाँको पदचिन्हमा हिँड्ने हो भने काँग्रेस एकजुट हुनपर्छ। गुट हटाउनुपर्छ। १४ औं महाधिवेशनपछि यो समाप्त पार्नुपर्छ। यसो गरेमा हामीलाई कसैले हटाउन सक्दैन,’ कोइरालाले भने।   

           उनले काँग्रेस अहिले पृथक बाटोतर हिँड्न खोजेको उल्लेख गर्दै यसमा सच्चिनुपर्ने बताए। भने, ‘हामी पृथक तरिकाले हिँड्न खोजेका छौं‌। शिक्षा स्वास्थ्य फ्रि छैन। समाजवादी उन्मुख भनेका छौं त्यो छैन।’

परिवर्तनका लागि सोचमै परिवर्तन ल्याउनुपर्ने उनको भनाई थियो। ‘हामीले आफ्नो सोचमा पनि परिवर्तन ल्याउनुपर्‍यो। स्वास्थ्य र शिक्षा निशुल्क गर्नुपर्‍यो। समाजवादमा केही परिवर्तन हुनुपर्‍यो।’

विपीले देखाएको बाटो स्पष्ट रहेको उल्लेख गर्दै उनले १७ महिनामै विकासको राम्रो सन्देश दिएको बताए।

‘उहाँले दिएका बाटो अत्यन्त स्पष्ट थियो। १७ महिनाको समयमा उहाँले परिवर्तन गर्नुभयो। उहाँलाई क्यान्सरले पनि सतायो। क्यान्सलाई पनि जित्नुभयो।’

विपीले अरुलाई पनि राम्रो मौका दिएको उल्लेख गर्दै अहिलेको नेतृत्वले पनि सोही किसिमले काम गर्नुपर्ने उनको सुझाव थियो। ‘१५ वर्षमा हरेक नेपाली मेरो स्तरमा ल्याउँछु भन्नुभएको थियो। उहाँले १७ महिनामात्र काम गर्न पाउनुभयो। उहाँले गरेका कुरा अहिले पनि सान्दर्भिक छ,’ कोइरालाले भने, ‘मन्त्रिमण्डलमा समावेशी थियो। सबै जातजातिलाई समावेश गराउनु भएको थियो।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology