काठमाडौं । भारत–चीनको सीमामा ४५ वर्षपछि गोली हानाहान भएको छ । सोमबार लद्दाखको पेन्गाङ झीलस्थित दक्षिणी किनारामा भारत र चीनबीच गोली चलेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । चिनियाँ सेनाका वेस्टर्न थियेटर कमाण्डका प्रवक्ताका अनुसार भारतीय सैनिकले सोमबार पेन्गाङ त्सो को दक्षिणी किनारामा लाइन अफ कन्ट्रोल (एलएसी) पार गरेर घुसपैठको कोशिश गरेको आरोप लगाए । उनले एलएसी पार गरेर हवाई फायर गरेको आरोप लगाएका हुन् ।
चिनियाँ सेनाका अनुसार चिनियाँ सेना भारतीय सेनासँग वार्ता गर्न अगाडि बढिरहेका बेलामा भारतीय सेनाले शेनपाओ इलाकामा एलएसी पार गरेर वार्निङ शट अर्थात् हावामा गोली चलाएका थिए ।
यसबारेमा भारतीय सेनाले भने कुनै आधिकारिक बयान जारी गरेको छैन । विभिन्न स्रोतको प्रयोग गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले भने दुवैतर्फ गोली हानाहान भएको बताएका छन् ।
समाचार एजेन्सी एएनआईले पनि स्रोतलाई उधृत गर्दै हवाई फायर भएको जनाएको छ ।
एक हप्ताअघि १ सेप्टेम्बरमा भारतमा चिनियाँ दूतावासले बयान जारी गर्दै भारतीय सैनिकहरुले झीलको दक्षिणी तटमा एलएसी पार गरेको आरोप लगाएको थियो ।
४५ वर्षपछि पहिलो पटक दुई देशको सीमामा गोली चलेको हो । यसअघि सन् १९७५ को अक्टुवर २० मा अरुणाचल प्रदेशको तुलुंग लामा चीनले असम राइफलको पेट्रोलिङ पार्टीलाई धोकाधडी गरी एम्बुस थापेर हमला गरेको थियो ।
उक्त घटनामा चार भारतीय जवानको ज्यान गएको थियो । हालै गलवान घाटीमा दुई देशबीच भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।
प्रकाशित : २०७७ भदौ २३ गते ८:४३
Facebook Comment