अमेरिकी सरकारको आदेशविरुद्ध अदालत जाँदै टिकटक

NAWALPUR TIMES

अमेरिकी सरकारको आदेशविरुद्ध अदालत जाँदै टिकटक
TikTok 1

काठमाडौं । छोटो भिडियो शेयर गरिने लोकप्रिय एप टिकटक तथा उसको मातृ कम्पनी बाइट डान्ससँग कारोबारमा रोक लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध टिकटकले अदालतको ढोका ढक्ढकाउने भएको छ ।

यही सोमबार टिकटकले ट्रम्प प्रशासनको आदेशविरुद्ध अदालतमा अपिल गर्ने तयारी गरिरहेको रोयटर्सले उल्लेख गरेको छ ।

गत अगष्ट ११ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै चिनियाँ कम्पनी बाइट डान्सलाई उसको टिकटक एपको अमेरिकामा रहेको व्यवसाय कुनैपनि अमेरिकी कम्पनीलाई बिक्री गर्न ९० दिनको समयसीमा दिएका थिए ।

उक्त आदेशसँगै बाइट डान्सले अमेरिकामा टिकटक बिक्रीका लागि माइक्रोसफ्ट तथा ओरेकल लगायतका कम्पनीहरुसँग छलफल अगाडि बढाइरहेको छ । टिकटक खरीद प्रक्रियामा बाइट डान्सका अमेरिकी लगानीकर्ताहरुसमेत सामेल हुनसक्ने बताइएको थियो ।

अमेरिकी सरकारविरुद्ध टिकटकले दिन लागेको कानूनी चुनौति खासगरी अगष्ट ६ को कार्यकारी आदेशविरुद्ध हो । उक्त आदेशअनुसार ट्रम्पले वाणिज्य मन्त्रालयलाई आगामी ४५ दिनभित्रमा अमेरिकामा बाइट डान्स कम्पनीसँग भइरहेका कारोबार तथा लगानीहरुको विवरण पेश गर्न भनिएको थियो ।

यस्तो आदेश अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी कानुन विपरीत रहेको उसको जिकिर छ । साथै आफूलाई अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि चुनौति भएको भनेर ह्वाइट हाउसले लगायतको आरोपविरुद्ध पनि उसले अदालतमा उजुरी गर्नेछ ।

यद्यपि टिकटकले कुन अदालतमा मुद्दा हाल्न लागेको हो भन्ने प्रष्ट भएको छैन । टिकटकले यसअघि नै अमेरिकी सरकारको आदेशविरुद्ध कानुनी विकल्पबारे अध्ययन गरिरहेको र कर्मचारीहरुले समेत छुट्टै मुद्दाको तयारी गरिरहेका जनाएको थियो ।

टिकटकले ट्रम्प सरकारको अगष्ट ६ को कार्यकारी आदेशविरुद्ध अदालतमा दायर गर्ने मुद्दाका कारण टिकटकको अमेरिकी व्यवसाय बिक्री सम्बन्धी बाइट डान्सद्वारा अघि बढाइएको छलफल भने प्रभावित हुने छैन । यसबाट अमेरिकामा टिकटक बिक्रीका लागि छलफल अगाडि बढाइरहेको बाइट डान्सले व्यवसाय बिक्रीको सौदावाजी असफल भएको खण्डमा सस्तो मूल्यमा हठात् टिकटक बिक्री गर्नु नपरोस् भन्नका लागि उपलब्ध सबै कानुनी विकल्पहरुको प्रयोग गरिरहेको देखिन्छ ।

युवा तथा किशोर–किशोरी पुस्तामाझ सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध गराउने गरेको आरोप अमेरिकाको छ । चिनियाँ एपहरुलाई विश्वास गर्नलायक नभएका एपहरुको रुपमा वर्गीकरण गरेको अमेरिकाले टिकटक मात्र नभई विच्याटलाई समेत प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

–एजेन्सीको सहयोगमा

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology