९७ पटक रक्तदान गरेका गिरी भन्छन “रक्तदानले दिने आत्मसन्तुष्टि र खुसी अरुमा पाईदैन”
NAWALPUR TIMES प्रकाशित : २०७९ जेठ ३१ गते १८:३७
IMG 20220614 143207 scaled
सन्जय भट्टराई/कावासोती
रक्तदान गरी गरौँ जीवनदान दानमा दान, महादान रक्तदान
रक्तदान गर्नलाई प्रोत्साहन गर्ने र रक्तदानको महत्व झल्काउने धेरैले सुनेको प्रेमसागर कर्माचार्यले आजभन्दा करिब १९ वर्ष अगाडी लेखेको यो गीतको महत्त्व र सन्दर्भ आज पनि घटेको छैन झन झन यस्ले आफ्नो महत्त्व र दुरगामी प्रभाव बढाएको छ ।
गीतमा भनिए झै रक्तदान भनेको महादान हो भनेर आफ्नो जीवननै यसैमा सम्पर्ण गर्नेहरुको कमि यो समाजमा आज पनि छैन । रक्तदान महादानलाई जीवनको मुलमन्त्र बनाउने मध्येका एक हुन नवलपुर कावासोती-१६ का शिव गिरी ।
नेपाल स्वयंसेवि रक्तदाता समाज नवलपुरको तथ्यांक अनुसार गिरी जिल्लामा सबै भन्दा धेरै अर्थात ९७ पटक रक्तदान गर्ने रक्तदाता हुन ।
आज भन्दा २९ वर्ष अगाडि आफ्नी आमाको उपचारको क्रममा काठमाडौको वीर अस्पताल मा आमाको लागि पहिलो पटक रगत दिएका गिरीले ९७ पटक रगत दान गरिसकेका छ्न ।
आमाका लागि आफुले मात्रै रगत दिएर नपुगे पछि दिनभरि जसो गिरीले काठमाडौको बाक्लो भिडमा थप रगत दिने मान्छे खोजे तर पाएनन अन्तिममा एक जना रिक्सा चालकलाई केही रकम दिएर रगत दिन राजी गराएर आमाको ज्यान बचाएको सम्झदै गिरीले शरीर र स्वास्थ्यले साथ दिने बेला सम्म रक्तदान गर्न पछि नपर्ने बताउछ्न । यो घटनालेनै आफ्नो लागि रगत दान गर्नु पर्छ भन्ने प्रेरणा दिएको बताएका गिरीले आफुले निरन्तर रक्तदान गर्न सुरु गरे पछि स्वास्थ्यमा कुनै प्रकारको समस्या नआएको बरु शरीरमा थप उर्जा थपिएको अनुभव सुनाए ।
रक्तदान कार्यक्रममा मात्रै होईन अस्पतालमा गम्भीर प्रकृतिको रोग सँग लडेका बिरामीलाई समेत गएर धेरै पटक रगत दिएको सम्झिदै गिरीले भने “रक्तदानलाई त्यसै महादान भनिएको होइन, अरुको जीवन बचाउदा प्राप्त हुने सन्तुष्टि र खुसी यो बाहेक अरु के मा पाईएला र”
“रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ । एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’ समेत भन्ने गरिन्छ, त्यसैले म १८ वर्ष पार गरेका ४५ किलो तौल पुगेका सबैलाई रक्तदान गर्न सुझाव दिन्छु, अनुरोध गर्छु” गिरीले भने ।
सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने बताउदै नेपाल स्वयंसेवि रक्तदाता समाज नवलपुरका अध्यक्ष धर्मराज लुईटेलले नयाँ रक्तदातालाई रक्तदान अभियानमा जोडिन शिव गिरीहरुबाट प्रेरणा मिल्ने बताउछ्न ।
यसै बिच मंगलबार विश्वरक्तदाता दिवसको अवसर पारेर नेपाल स्वयंसेवि रक्तदाता समाजले जिल्लामा रहेर पाँच पटक भन्दा धेरै रगत दिने रक्तदाताहरुलाई सम्मान गरेको थियो ।
रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४का दिन यो दिवस मनाउन थालिएको हो ।
मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।
दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा समेत लिने गरिएको छ ।
रगत शरिरमा रहेको रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरुमा ग्लुकोज,एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । यसले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ ।
मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ ।
मानिस जिवित रहनकालागि रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ । सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने उनीहरुको ठहर छ ।
रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ । एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’ समेत भन्ने गरिन्छ ।
Facebook Comment