स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कस्तो चाहिन्छ योग्यता ?

NAWALPUR TIMES

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कस्तो चाहिन्छ योग्यता ?
local election

नवलपुर । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा कुनै व्यक्ति अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदको लागि उम्मेदवार हुन चाहेमा उसमा केही योग्यता हुन जरुरी छ ।

निर्वाचन आयोगले उम्मेदवार बन्न के कस्ता योग्यता चाहिन्छ भन्ने ‘स्थानीय तह निर्वाचन निर्देशिका, २०७८’ मा स्पष्ट उल्लेख गरेको छ । निर्देशिकाका अनुसार स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार बन्न पहिला नेपाली नागरिक भएको हुनुपर्छ । त्यसपछि उसको उमेर २१ वर्ष पुरा भएको हुनुपर्नेछ ।

अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको तथा वडा अध्यक्ष र वडा सदस्यको पदको लागि सम्बन्धित वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । कुनै कानूनले अयोग्य नभएको समेत हुनुपर्नेछ ।

गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला सदस्य पदको लागि सम्बन्धित गाउँसभा वा नगरसभाको सदस्य भएको महिला उम्मेदवार हुन सक्नेछन् ।गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको दलित वा अल्पसङ्ख्यक सदस्य पदको लागि उम्मेदवार हुन नेपालको नागरिक, एक्काईस वर्ष उमेर पूरा भएको, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

गैर नेपाली नागरिक, नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार बन्न पाउने छैन ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology