प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्न भरतपुरमा कोभिड-१९ आइसोलेसन केन्द्र

NAWALPUR TIMES

प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्न भरतपुरमा कोभिड-१९ आइसोलेसन केन्द्र
1598767660.chitawan

चितवन। भरतपुरमा आजदेखि कोभिड-१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ।

 

भरतपुर महानगरपालिका-१ बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ शय्याको आइसोलेसन सञ्चालनमा आएको हो।

 

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइसोलेसनको शुभारम्भ गर्दै कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने बताइन्। उनले भनिन्, “भरतपुर महानगरपालिकाभित्रका सङ्क्रमितहरुलाई पहिलो प्राथमिकतामा राखिने र आवश्यकताका आधारमा विस्तार गर्दै लगिने छ।”

 

भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गरेको हो। यहाँको मर्मतसम्भार, खाना खर्च सबै महानगरले व्यहोर्ने छ। आन्तरिक व्यवस्थापनसँगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्नेछन् भने अन्य प्राविधिक पक्षमा भरतपुर अस्पतालले सहयोग गर्नेछ।

 

चिकित्सालयमा कोरोना सङ्क्रमितका लागि छुट्टै ब्लक स्थापना गरिएको छ। सो ठाउँमा रहेका पाँच घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ ।

 

चिकित्सालयका प्रमुख डा. हेमराज कोइरालाले कोरोना सङ्क्रमण भएका तर लक्षण नदेखिएकाहरु प्राकृतिक विधिवाट उपचार गरिने बताए। उनका अनुसार आइसोलेसनमा बस्नेहरुलाई प्राकृतिक खानपान र नियमित योग, ध्यान र व्यायाम गराइने भने मनोरन्जनको पनि विशेष ख्याल गरिनेछ। आइसोलेसनमा १५ जना स्वास्थ्यकर्मी खटिनेछन्। रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology