५सय ३९ दिन देखि चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको शुन्य चोरी शिकारी

सन्जय भट्टराई
प्रकाशित : २०८२ वैशाख २३ गते १२:२९
५सय ३९ दिन देखि चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको शुन्य चोरी शिकारी

कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा आ.व २०७७/७८ मा ५ वटा, ७८/७९ मा २  र ७९/ ८० मा २ वटा गैंडा तस्करका निसानामा परे । अन्तिम पटक तस्करको निशानामा परेको करिब एक वर्ष पछि निकुञ्नको पुर्वी सेक्टर अन्तर्गतको चपरचुली क्षेत्रमा नेपाली सेनाको सुरक्षा पोस्टबाट २.३ किलोमिटर पर जंगलमा खाडलमा पारेर दुइवटा गैँडाको तस्करले ज्यान लिए । घटना थियो ३० कार्तिक २०८० को । त्यस यता ५ सय ३९ (आज) दिन पुगेको छ चितवन राष्ट्रिय निकुञ्जमा तस्करको निशाना बाट गैँडा जोगिएको ।
चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको गोरख गण, संरक्षणकर्मीको संयुक्त प्रयासमा चितवन राष्ट्रिय निकुञ्जमा शून्य चोरी शिकारीको ५ सय ३९ दिन कटेको छ । शुन्य चोरी शिकारीको ५ सय ३९ दिन पुग्नु आफैमा राम्रो काम भएको भए पनि २०८० कार्तिक ३० पछिका केहि महत्त्वपूर्ण घटनाक्रमलाई भने नजर अन्दाज गर्न सकिदैन ।

 

दुईवटा गैँडा मारिए पछि गठन भएको छानबिन समिति र त्यसको प्रतिवेदन

३० कार्तिक २०८० मा निकुञ्जको चपरचुली क्षेत्रमा २ वटा गैँडा तस्करले पासोको रुपमा जंगलमा खनेको खाडलमा परेर मरे पछि भोलिपल्टै मंसिर १ गते नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो ।छानबिन समितिले काम गर्दै गर्दा नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त प्रयासमा उक्त घटनामा संलग्न ८ जना तस्कर समातिए पछि तस्करहरु बयानबाट छानबिन समितीनै चकित परेको सम्झदै छानबिन समितिका संयोजक ढकालले भने “तस्कर समूहले निकै व्यवस्थित र योजनाबद्ध रुपमा घटना गराएका रहेछ्न ।”

छानबिन समितिले १२ दिन काम गरे पछि प्रतिवेदन सार्वजनिक गरेको र उक्त प्रतिवेदनमा निकुञ्जको सुरक्षा र सुरक्षा व्यवस्था माथी गम्भीर प्रश्न उठाएको थियो ।  प्रतिवेदनले तस्करको समुह २० दिनभन्दा बढी समय जंगलमै बसेको, गैँडा हिड्ने बाटोमा ७ वटा खाडल बनाएको, सातमध्ये २ वटामा गैँडा परेको, खाडलमा परेपछि पनि सानो गैँडा नमरेपछि गोली हानिएको र घटनास्थल नेपाली सेनाको पोस्टबाट २.३ किलोमिटर मात्रै टाढा रहेको जस्ता गम्भीर विषयलाई मात्रै उजागर मात्रै गरेन, चोरीसिकारी नियन्त्रण गर्न सुरक्षा निकायले परम्परागत शैली मात्र अपनाएको, संवेदनशील क्षेत्रमा तालिका बनाएर लङ्ग रेन्ज पेट्रोल र स्वीपिङको काम न्युन भएको, सुराकी व्यवस्थापन, सूचना संकलन र विगतमा अदालतबाट भएका फैसला अनुसार जेल सजाय भुक्तान गरी बाहिर निस्केका व्यक्तिको निगरानीमा निकुञ्ज प्रशासन र त्यो समय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाले ध्यान पुर्याउन नसकेको जस्ता गम्भीर विषयलाई समेत औलाएको थियो । छानबिन समितिको प्रतिवेदनमा उल्लेख भए अनुसार तस्करहरुको समूहले पानीको घोल नजिकै गैँडा आउने बाटो, आनीबानी र समयको समेत रेकी गरेर खाडल खनेका थिए भने खाल्डो नजिकै अग्लो अस्थायी मचान बनाएर गैँडाको अवस्था बुझेका थिए जुन ठाउँ निकुञ्जको कोर क्षेत्रमा र सुरक्षा पोस्टबाट २.३ किमि मात्रै नजिक थियो ।

 

फेरिएको सुरक्षा रणनीति, निकुञ्ज प्रशासन र नेपाली सेनाको सक्रियता

छानबिन समितिको प्रतिवेदनले दिएको सुझाव अनुसार निकुञ्ज प्रशासन, निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाले सुरक्षा रणनीति फेरे पछि शुन्य चोरी शिकारीको ५ सय ३९ दिनको यात्रा तय गर्न सफल भएको बताउछ्न निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्त । “फेरिएको सुरक्षा रणनीति, निकुञ्ज तथा नेपाली सेनाले टोलीको अथक मेहनत, संरक्षणमा समुदायको सहयोगले यहाँ सम्म आईपुग्न सकेका छौ“, डा.पन्तले भने ।

३० कार्तिक २०८२ मा घटेको घटना पछि निकुञ्जको सुरक्षा खटिएको नेपाली सेनाले निकुञ्ज प्रशासनसँग मिलेर प्राप्त सूचनाहरूको विश्लेषण गरेर विषेश रणनीति तयार गरेर काम गरिरहेकाले सफलता प्राप्त हुँदै गएको पन्त बताउछन । हरेक हप्ता योजनाको कार्यान्वयन तथा अनुगमन, सुरक्षा रणनीतिको योजना नेपाली सेना सँग र निकुञ्ज प्रशासन बसेर बनाउने गरिएको पन्तले बताए ।नेपाली सेना, निकुञ्ज र स्थानीय उपभोक्ता समिति, समुदायमा आधारित चोरी सिकारी युवा जागरण अभियान र स्थानीय बासीको संयुक्त प्रयासका कारण यो सफलता प्राप्त भएको पन्त बताउछन् । “२०८० मंसिर १ मा गठन गरेको छानबिन समितिले प्रतिवेदनमा औल्याएका विषयहरु लाई नेपाली सेना र निकुञ्ज प्रशासनले गम्भीर रुपले लिएर कार्यान्वयन गरेकाले शून्य चोरी शिकारीको ५ सय ३९ दिन सम्म आईपुगेको हो, यो निकुञ्ज, नेपाली सेना र स्थानीयको संयुक्त प्रयासमा भएको हो” पन्तले भने ।

नेपाली सेनाको नयाँ गोरख गणले निकुञ्जको सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएको छ । यति बेला चितवन राष्ट्रिय निकुञ्ज सहित नेपाली सेना खटिएका निकुञ्ज र आरक्षहरुमा आवश्यकता अनुसार अपरेसन संरक्षण ११ चलाइरहेको छ । नेपाली सेनाका प्रवक्ता तथा जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी गौरव कुमार केसीले यसका लागि नियमित गस्तीदेखि विशेष खालका अपरेशन गर्नुपरेको बताउछ्न । विशेष खालको अभियानअन्तर्गत हाल ‘अपरेशन संरक्षण–११’ संचालन भइरहेको छ। जुन अपरेशन चोरीसिकार रोक्ने हो। “नेपाली सेना जस्तो अवस्थामा पनि पाएको जिम्मेवारीमा निरन्तर रूपमा खटिने गरेको छ“ प्रवक्ता केसीले भने ।

निकुञ्ज सुरक्षाका लागि खटिएको नयाँ गोरख गणका गणपती शिवराम बस्न्यातका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो एक वर्षमा नेपाली सेनाले जम्मा ८४ हजार ६०६ पेट्रोलमार्फत तीन लाख ५२ हजार ८० जना सैनिकले १० लाख ९६ हजार ९५२ किमी गस्ती गरेका छन । निकुञ्जको सुरक्षाका लागि नेपाली सेना संलग्न ५३ वटा पोष्ट रहेका र एउटा पोष्टमा १० देखि १२ जनासम्म सैनिकहरूले सुरक्षा दिइरहेका उनले बताए । निकुञ्जको बढी सम्वेदनशील ठाँउहरूको पहिचान गरेर ३ वटा फिल्ड अप्रेशन वेस खटाइएको र त्यसमा सैनिकको संख्या पोष्टमा भन्दा बढी हुने गरेको गणपति बस्न्यातले बताए । पछिल्लो समय विभिन्न प्रविधि जस्तै रियल टाइम स्मार्ट गस्ती, स्मार्ट आई, सिसी क्यामरा, ड्रोन, स्पाई क्यामेरा लगायतका प्रविधिलाई प्रयोग गरेर पनि सुरक्षामा नेपाली सेना खटिँदै आएकोले सफलता प्राप्त भएको गणपति बस्न्यात बताउछन ।

शुन्य चोरी शिकारीको ५ सय ३९ दिन मनाईरहदाँ संरक्षणमा समुदायले पु¥याएको योगदानलाई समेत नजरअन्दाज गरिनु हुदैन । उपभोक्ता समिति र त्यस अन्तर्गतका समुदायमा आधारित चोरी शिकारी युवा जागरण अभियानका स्थानीयहरुले स्वतस्फूर्त रुपमा स्वयंसेवी रुपमा काम गरेकाले अहिलेको अवस्थामा आउन सफल भएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना बताउछ । “संरक्षणमा स्थानीयको सहभागीता अहिलेको उपलब्धिको महत्त्वपूर्ण हिस्सा हो“, ढुङ्गानाले भने, “स्वतस्फूर्त र स्वंयसेवक भएर स्थानीय बासिन्दा र युवाहरुले पु¥याएको योगदानलाई नजरअन्दाज गरिनु हुदैन, “हिजोका दिनमा निकुञ्ज, नेपाली सेना र स्थानीयको समन्वयमा कमि हुँदा चोरी शिकारी बढेका थिए, ढुङ्गानाले भने, “अहिले त्रिपक्षीय समन्वय हुँदा शुन्य चोरी शिकारीको ५ सय ३९ दिन सम्म आईपुगेका छौं ।“ ढुङ्गानाका अनुसार मध्यवर्तीका उपभोक्ता समिति, सामुदायिक वन, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान, समुहहरु सबैले प्रभावकारी रुपमा काम गरेको र निकुञ्ज, नेपाली सेना र स्थानीयको समन्वयले शुन्य चोरी शिकारीको ५ सय ३९ दिन सम्म आईपुग्न सकिएको हो ।

पछिल्लो पटक सन २०२१ मा गरिएको गणना अनुसार नेपालमा एक सिङ्गे गैँडा ७५२ रहेका छ्न ती मध्य चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको छ्न ।

प्रकाशित : २०८२ वैशाख २३ गते १२:२९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI