६ सय ७५ दिन देखि गैंडाको शुन्य चोरी शिकार

सन्जय भट्टराई
प्रकाशित : २०८२ असोज ६ गते ९:२८
६ सय ७५ दिन देखि गैंडाको शुन्य चोरी शिकार

कावासोती । नेपालमा चोरी शिकारबाट गैंडा जोगिएको आज ६ सय ७५ दिन पुगेको छ ।

अन्तिम पटक २०८० कार्तिक ३० गते चितवन राष्ट्रिय निकुञ्नको पुर्वी सेक्टर अन्तर्गतको चपरचुली क्षेत्रमा नेपाली सेनाको सुरक्षा पोस्टबाट २.३ किलोमिटर पर जंगलमा खाडलमा पारेर दुइवटा गैँडाको तस्करले ज्यान लिएका थिए । त्यस यता प्राकृतिक कारणले गैँडाको मृत्यु भएको भए पनि तस्करको निशानाबाट गैँडा जोगिदैँ आएका छन ।

निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार २०८० कार्तिक ३० अगाडी पनि २०७७/७८ मा ५ वटा, ७८/७९ मा २  र ७९/ ८० मा २ वटा गैंडा तस्करले मारेका थिए ।

चितवनको चपरचुली क्षेत्रमा दुईवटा गैँडा तस्करले पासोको रुपमा जंगलमा खनेको खाडलमा परेर मरे पछि नेपाल सरकारले मंसिर १ गते नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो । छानबिन समितिले काम गरिरहेकै बेला नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त प्रयासमा उक्त घटनामा संलग्न ८ जना तस्करलाई पक्राउ गरिएको थियो ।

छानबिन समितिको प्रतिवेदनले दिएको सुझाव अनुसार निकुञ्ज प्रशासन, निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा रणनीति फेरे पछि शुन्य चोरी शिकारीको ६ सय ७५ दिन पुगेको हो ।

नेपाली सेनाको नयाँ गोरख गणले निकुञ्जको सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएको छ । यति बेला चितवन राष्ट्रिय निकुञ्ज सहित नेपाली सेना खटिएका निकुञ्ज र आरक्षहरुमा आवश्यकता अनुसार अपरेसन संरक्षण ११ चलाइरहेको छ ।निकुञ्जको सुरक्षाका लागि नेपाली सेना संलग्न ५३ वटा पोष्ट रहेका र एउटा पोष्टमा १० देखि १२ जनासम्म सैनिकहरूले सुरक्षा दिइरहेका छ्न ।

विगत २२ महिना  देखि चोरी शिकारीको कारण गैँडा मर्न रोकिएको भए पनि एक वर्षमा प्राकृतिक कारणले २८ वटा गैँडाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए । त्यसै गरि आ.व ८२/८३ को पहिलो तीन महिनामा २ वटा प्राकृतिक कारण र एक वटा गैँडा किसानले बाली जोगाउन खेतमा लगाएको करेन्ट लागेर मरेका छ्न ।

चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा आव ७५/७६ मा ४३ वटा, ७६/७७ मा २६ वटा, ७७/७८ मा ३५ वटा, ७९/८० मा २० वटा र ८०/८१ मा २१ वटा गैँडाको प्राकृतिक कारणले मृत्यु भएको थियो । आर्थिक वर्ष ८१/८२ सकिदा अघिल्लो आर्थिक वर्ष ८०/८१ भन्दा ७ वटा बढी गैँडा प्राकृतिक कारणले मरेका हुन ।

निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा बुढो भएर, अन्य जनावरको आक्रमणमा परेर, आपसमा जुधेर तथा बाढीले बगाएर, बासस्थानको समस्या, जलवायु परिवर्तन, मानवीय गतिविधीका कारण नदि साघुँरिनु, वन भित्रका पोखरी सुक्दै गएर दलदल बन्नु कारणले गैँडाको प्राकृतिक मृत्यु भएको निकुञ्जले बताउदै आएको छ । नारायणी, राप्ती जस्ता ठुला नदी रहेको चितवन राष्ट्रिय निकुञ्जमा अहिले पनि हरेक वर्ष जसो बाढी आइरहेको छ तर कति गैँडा बगाएको छ भन्ने यकिन तथ्याङ्क निकुञ्जसँग पनि छैन ।

निकुञ्जले गैँडा घनत्व बढदै गएपछि बासस्थान व्यवस्थापन, आनुवांशिक विविधता मिलाउन भन्दै २०८१ मा निकुञ्जको पश्चिम क्षेत्रबाट पुर्वी क्षेत्रमा १० वटा गैंडा स्थानान्तरण गरेको थियो ।

पछिल्लो गणना अनुसार नेपालमा ७ सय ५२ वटा गैँडा रहेका छन् । यसमध्ये चितवन निकुञ्जमा मात्रै ६ सय ९५ वटा गैँडा छन् । चितवनका बाहेक पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा पनि गैँडा रहेका छन् ।

यसै बिच आज आज विश्व गैंडा दिवस संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरी नै विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । गैंडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्लू डब्लू एफ ले सन् २०१० देखि यो दिवस मनाउने निर्णय गरेको हो ।

प्रकाशित : २०८२ असोज ६ गते ९:२८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI