गैंडाकोटमा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८२ कार्तिक ७ गते १४:०६
गैंडाकोटमा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु

कावासोती ।  नवलपुरको गैँडाकोट नगरपालिका–४, इट्टाभट्टामा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार गैँडाकोट नगरपालिका–१, धारापानीका ३३ वर्षीय नारायण कुमालमाथि हाल नाम, थर र ठेगाना नखुलेका व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए। गए राति करिब १२ः३० बजेको समयमा भएको उक्त घटनापछि गम्भीर घाइते भएका कुमाललाई उद्धार गरी गैँडाकोट सामुदायिक अस्पताल पुर्‍याइएको थियो।

प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाएको थियो। तर, राति १ः१५ बजे उपचारका क्रममा कुमालको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

प्रहरीका अनुसार उनको बाँया हात र ढाडमा गहिरा चोट लागेको थियो। घटना घटाउने व्यक्ति भने फरार रहेको र उनको खोजी तथा अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।

घटना स्थल इलाका प्रहरी कार्यालय गैँडाकोटबाट करिब ४ किलोमिटर उत्तरतर्फ पर्छ।

प्रकाशित : २०८२ कार्तिक ७ गते १४:०६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI