काठमाडौ : नेपाली काँग्रेसले दोलखा बाट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीलाई फागुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसको संसदीय बोर्डको बैठकले उनलाई दोलखा बाट उम्मेदवार बनाउने निर्णय गरेको सिवाकोटीले बताए । ‘ दोलखा बाट टिकट पाएको छु , भोलि मनोनयन गर्न जाने तयारी छ ।’ उनले भने ।
पत्रकारिता पृष्ठभुमिबाट राजनीतिमा आएका सिवाकोटी काँग्रेसको १४ औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी विशेष महाधिवेशन बाट पनि केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । त्यस अघि उनी नेपाल प्रेस युनियनका केन्द्रीय महासचिब थिए ।
पत्रकारितामा रहँदा निडर र निर्भिक पत्रकारका रुपमा परिचित उनले धेरै कान्डको पर्दाफास गरेका थिए ।
सिवाकोटी संचालक र प्रधानसम्पादक रहेको हाम्राकुरा डटकम मार्फत् उनले तत्कालीन सभामुख कृष्णबहादुर महराको चर्चित यौनकान्ड र तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाको ७० करोड वाला कान्डको पर्दाफास गरेका थिए ।
उनले नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल द्वारा स्थापित इन्जा अन्तर्राष्ट्रिय साहसी पत्रकारिता पुरस्कार लगायत थुप्रै राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।
‘दोलखाली जनताको माया र बिश्वास छ , चुनाव जित्छु भन्नेमा निर्धक्क छु । ‘ नवलपुर टाईम्स संगको कुराकानीमा उनले भने ।
सिवाकोटी काँग्रेस भित्र सभापति गगन थापा निकट छन् ।
Facebook Comment