चोरी शिकारी नियन्त्रण राष्ट्रिय युवा जागरण अभियान दिवसमा निकुञ्जको कार्यशाला गोष्ठी

NAWALPUR TIMES

चोरी शिकारी नियन्त्रण राष्ट्रिय युवा जागरण अभियान दिवसमा निकुञ्जको कार्यशाला गोष्ठी

कावासोती । विश्व वन्यजन्तु दिवस तथा चोरी शिकारी नियन्त्रण राष्ट्रिय युवा जागरण अभियान दिवस को अवसरमा नवलपुरमा अमलटारी सेक्टर स्तरीय कार्याशाला गोष्ठी सोमबार सम्पन्न भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको आयोजनमा निकुञ्जको पश्चिम सेक्टर अन्तर्गतका समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवाहरु, उपभोक्ता समिति सहित संरक्षणको क्षेत्रमा काम गर्नेहरुको उपस्थितिमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा गणेश पन्त, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, अमलटारी सेक्टर  संरक्षण अधिकृत मधु नेपाली, नेपाली सेनाका सेनानी कोकिल प्रजाले कार्यशालामा संरक्षणको क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, उपभोक्ता समिति र समुदायमा आधारित चोरी शिकार नियन्त्रण राष्ट्रिय युवा अभियानले पुर्‍याएको योगदानका विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सहभागी युवा अभियानका प्रतिनिधिहरुले अभियानलाई बजेट अपुग भएकाले काम गर्न समस्या भएको, मध्यवर्ती उपभोक्ता समिति र निकुञ्जले स्वयंसेवाको रुपमा गरिएको अभियानलाई महत्त्व नदिएको गुनासो गरेका थिए । समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान नन्दभाउजुका अध्यक्ष होमबहादुर थनेतले आफुहरुले ज्यान जोखिममा राखेर संरक्षणको काम गर्ने गरेको भए पनि निकुञ्ज र मध्यवर्ती उपभोक्ता समितिहरुले काम उचित मुल्यांकन गर्न नसकेको बताए । उनले आगामी बजेट बाट अभियानको लागि छुट्टाईएको कार्यक्रम र बजेट मध्यवर्ती उपभोक्ता समिति मार्फत नभएर सोझै अभियानले नै गर्न पाउने व्यवस्था गर्न निकुञ्जको ध्यानाकर्षण गराएका छ्न ।

नेपालमा २०७१ साल देखि हरेक वर्ष समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान दिवस मनाउने गरिन्छ । दक्षिण एसियामै पहिलो पटक २०६० को असार १५ मा नवलपुर चोरी सिकार नियन्त्रण युवा जागरण अभियान गठन भएको थियो । त्यही वर्ष मंसिर २८ मा चितवन राष्ट्रिय निकुञ्जमा विधिवत दर्ता भएको अभियान २०६४ फागुन २७ मा समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान भनेर बर्दिया दर्ता भएको थियो । नेपाल सरकारले २०७१ मंसिर ६ गते हरेक वर्षको मार्च ३ मा पर्ने विश्व वन्यजन्तु दिवसका दिन समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान मनाउने निर्णय गरे सँगै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology