पूर्व पश्चिम राजमार्गको शिलान्यास स्तम्भमा राजा महेन्द्रलाई किन लेखियो श्री ३ ?

बोमलाल गिरी
प्रकाशित : २०८२ कार्तिक १२ गते १७:२७
पूर्व पश्चिम राजमार्गको शिलान्यास स्तम्भमा राजा महेन्द्रलाई किन लेखियो श्री ३ ?

कावासोती । राजाहरूलाई श्री श्री श्री श्री श्री अर्थात श्री ५ महाराज धिराज वीर विक्रम शाहदेव भनेर पुकारिन्थ्यो । ज्ञानेन्द्र शाहले राजगद्दी त्याग्नुअघि पनि श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भनिन्थ्यो । तर एउटा पुरानो यस्तो शिलालेख भेटिएको छ जहाँ राजा महेन्द्रलाई श्री श्री श्री अर्थात श्री ३ भनेर उल्लेख गरिएको छ ।

हालको पूर्वपश्चिम राजमार्ग जसलाई बि.सं. २०१९ साल बैशाख १ गते नयाँ वर्षको अवसर पारेर राजा महेन्द्रले शिल्यान्यास गरेका थिउ । त्यसैले यो राजमार्गलाई उनकै नामबाट महेन्द्र राजमार्ग भनिन्थ्यो । तर शिलालेखमा भने पूर्वपश्चिम राजमार्ग नै उल्लेख छ ।

उक्त भाग पूर्व पश्चिमकै मध्य भाग भएकाले नवलपुरको गैँडाकोटमा शिलालेख राखिएको गैँडाकोटका स्थानीय ७० वर्षीय बेदप्रसाद गौडेलले बताए । तर सडकको पुनः मापनपछि भने मध्यविन्दु नगरपालिकालाई मध्य माग मानिन्छ ।

गैँडाकोटमा निर्माण गरिएको शिलालेखमा ‘श्री महाराजधिराज श्री श्री श्री महाराज महेन्द्र वीर विक्रम जंगबहादुर शाहबहादुर शमशेर जङ्ग भनेर’ लेखिएको छ ।

राणाहरूलाई श्री ३ भनेर पुकारिन्थ्यो भने शाहहरूलाई श्री ५ भनिन्थ्यो । पृथ्वी नारायण शाहका पालादेखि नै राजाहरूलाई श्री ५ भन्ने गरिएको हो । तर २०१९ सालको शिलालेखमा पनि महेन्द्रलाई श्री ३ र जंगबहादुर शाहबहादुर शमशेर जंग भनेर किन लेखियो होला भन्ने चासोको विषय बनेको छ ।

गैँडाकोटका स्थानीय ७० वर्षीय बेद प्रसाद गौडेलले दरबारकै भाषा शैलीमा शिलालेख तयार गरेको बताए । पाँचवटा श्री एकै ठाउँमा हुनु पर्नेमा ३ वटा मात्र किन लेखियो भन्ने चाँही अनुसन्धानको विषय हुने उनको भनाइ छ । ‘‘यो एउटा इतिहास हो, इतिहास हामीले सच्चाउन मिल्दैन, तर किन यस्तो लेखियो भन्ने अनुसन्धान गर्नु पर्ने विषय हुन सक्छ, सायद राणाहरूको रजगज कायमै रहेकोले पो हो कि !’’ गौडेलले भने ।

शिलालेखमा यस्तो किन लेखिएको होला त ? संस्कृती एवं इतिहासविद डा. रमेश ढुंगेल भन्छन्, ‘‘राजालाई श्री ३ लेख्नु ब्लण्डर मिस्टेक हो । शिलालेखमा ४ वटा श्री छन् । त्यो त झन कसैलाई लेखिँदैन, एकै ठाँउमा पाँच श्री लेख्नु पर्ने हो, राजाको नामबाट शिलालेख तयार गर्ने छुट्टै अभ्यास हुन्छ तर शिलालेख अध्ययन गर्दा त्यस्तो गरेको पाइएन ।’’ त्यति बेला राजाको गुणगान गाउन, प्रसस्ती, बहादुरी पन तथा पौरखीको वर्णन गर्न त्यति बेलाका हाकिमले शिलालेखमा गम्भीर गल्ती गरेको डा. ढुंगेलको भनाइ छ ।

जंगबहादुर, शाहबहादुर र शमशेर जङ्ग लेख्नुको अर्थ भने महेन्द्रको बहादुरीको प्रशंसा गरिएको डा. ढुंगेलले बताए । उनका अनुसार ‘जङ्ग’ भनेको ‘लगाई’ हो, ‘बहादुर’ भनेको ‘शाहासी, त्यस्तै ‘शाह’ भनेको उनको ‘बंश’ हो भने ‘बहादुर’ भनेको ‘वीर’ ।’’ ‘शमशेर जङ्ग’ भने उर्दू भाषा मिलाएर लेखिएको हो । जसको अर्थ राजालाई लडाइमा कसैले जित्न नसक्ने भएकाले उहाँको बहादुरी पनको बर्णन गरिएको ढुंगेलको भनाइ छ ।

पञ्चायती शासनकालका गृह एवं कानुन मन्त्री निरन्जन थापाले पनि शिलालेखमा गम्भीर गल्ती गरिएको बताए । ‘‘राजा त्रिभुवनका पाला देखिको अनुभव सँगालेको म जिउँदो इतिहास पनि हुँ तर राजा कहिल्यै श्री ३ भएनन्, कहिल्यै श्री ३ पनि लेखिएन । शिलालेख लेख्ने बेलामा गल्ती भएको हुन सक्छ,’’ थापाले भने, ‘‘पाँच वटा श्री एकै ठाउँमा लेखिनु पर्छ ।’’

महेन्द्र राजमार्ग शिलान्यास कालखण्डदेखि पूर्ण राजमार्गको रुप दिँदा सम्मका सडक इन्चार्ज बनेका दुम्किवासका ८१ वर्षीय केबी थापाले नापी विभागका व्यक्तिहरुले शिलालेख लेखेको र राजा महेन्द्रले शिलान्यास गरेको बताए । त्यसमा लेखिएको भाषाका बारेमा भने आफू अनभिज्ञ रहेको थापाको भनाइ छ ।

पूर्व मन्त्री थापाले पनि त्यतिबेला दरवारको निर्देशनमा नापी विभागले शिलालेख तयार गर्दा गल्ती गरेको हुन सक्ने बताए । त्यति बेला राणाहरुले चाहेको भए जति श्री पनि लेख्न सक्ने भए पनि राजाहरुको श्री ५ हुने भएकाले आफूहरुले श्री ३ मात्रै लेखेको उनको भनाइ छ । तर शिलालेख लेखेको ६३ वर्षसम्ममा पनि किन गल्ती देखिएन र पहिचान गरेर सच्चाउन प्रकृया सुरु गरिएन भन्ने चासोको विषय बनेको छ ।

पहिले राम्रोसँग संरक्षण नभएको यो ठाउँलाई अहिले वडा कार्यालयले पर्खाल लगाएर संरक्षण गरेको छ र यो ठाउँको नाम नै शिलालेख चोक राखिएको छ । तर जहाँबाट शिलान्यास गरेर राजमार्ग बनाइएको थियो, अहिलेको राजमार्गको स्थान फेरिएको छ ।

‘‘पहिले राजमार्ग शिलालेख भएकै ठाउँबाट थियो, त्यहीबाट डुंगा चढेर नारायणी नदी वारपार गरिन्थ्यो,’’ स्थानीय गौडेलले भने, ‘‘पछि बजार विस्तार तथा नारायणीमा केही तलबाट बनेको पुलका कारण पनि राजमार्गको स्थान फेरियो र शिलालेख चोकलाई छुन सकेन ।’’

प्रकाशित : २०८२ कार्तिक १२ गते १७:२७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI