कावासोती । भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल विधानसभा निर्वाचनमा पराजित हुनु आम आदमी पार्टीका निम्ति ठूलो झट्का मानिएको छ । उनी आम आदमी पार्टीका राष्ट्रिय संयोजक पनि हुन् ।
नयाँ दिल्ली सिटबाट उनले चुनाव हारेका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार प्रवेश वर्मासँग चार हजारभन्दा बढी मतान्तरले पराजित भएका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
को हुन् केजरीवाललाई हराउने वर्मा ?
भारतीय सञ्चारमाध्यमका अनुसार, दिल्लीको राजनीतिमा केही समयदेखि केजरीवालविरुद्ध सबैभन्दा ठूलो आवाज बनेका व्यक्ति हुन्, प्रवेश वर्मा । उनी दिल्लीकै पूर्वमुख्यमन्त्री साहेब सिंह वर्माका छोरा हुन् । उनी यसअघि दिल्लीका सांसद पनि भइसकेका छन् ।
उनको छवि हिन्दु नेताका रूपमा छ । उनलाई योपटक भाजपाले केजरीवालविरुद्ध उमेदवार बनाएको थियो ।
प्रवेश वर्माको राजनीतिक जीवन
सन् २०१३ मा प्रवेश वर्माले महरौली निर्वाचन क्षेत्रबाट दिल्ली विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरे । र, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता योगानन्द शास्त्रीलाई हराए ।
त्यसपछि उनी २०१४ मेमा लोकसभा सदस्यका रूपमा विजयी भए । २०१९ मा उनी फेरि एकपटक लोकसभा सदस्यका रूपमा निर्वाचित भए । उनी २०१३ विधानसभा निर्वाचनमा दिल्ली भाजपा चुनाव समितिको सदस्य पनि थिए ।
दिल्ली चुनावमा भाजपाले वर्मामाथि ठूलो विश्वास गरेको थियो । वर्मालाई प्रायः केजरीवालविरुद्ध कडा स्वरमा बोल्ने गरेको देखिन्छ । यो वर्षको लोकसभा निर्वाचनमा भाजपाले उनलाई टिकट दिएको थिएन । त्यसपछि पार्टीले उनलाई विधानसभाको नयाँ दिल्ली सिटबाट चुनावी मैदानमा उतारेको थियो ।
उनको जन्म सन् १९७७ नोभेम्बर ७ मा दिल्लीको हिन्दु जाट परिवारमा भएको हो । उनकी आमाको नाम रामप्यारी वर्मा हो । उनका एक भाइ र तीन बहिनी छन् ।
उनले दिल्लीकै किरोरी माल कलेजबाट स्नातकोत्तर उपाधि हासिल गरेका थिए । उनले अन्तर्राष्ट्रिय व्यापारमा एमबीए पनि गरे । व्यवसाय र व्यवस्थापन क्षेत्रमा समेत उनको राम्रो पकड छ ।
प्रवेश वर्माले स्वाती सिंहसँग विवाह गरेका छन् । उनका एक छोरा र दुई छोरी छन् ।
प्रकाशित : २०८१ माघ २६ गते १८:३०
Facebook Comment