६ सय किलोमिटर उडान भर्दै कावासोतीबाट लम्कीचुहा पुगेको गिद्ध आठ दिन पछि प्राकृतिक वातावरणमा फर्कियो

सन्जय भट्टराई
प्रकाशित : २०८२ साउन २७ गते १५:००
६ सय किलोमिटर उडान भर्दै कावासोतीबाट लम्कीचुहा पुगेको गिद्ध आठ दिन पछि प्राकृतिक वातावरणमा फर्कियो

कावासोती । आठ दिनको उपचारपछि नवलपुरको कावासोतीबाट कैलालीको लम्कीचुहा पुगेको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ ।

लम्कीचुहा स्थित सब डिभिजन पहलवानपुर वन कार्यालयमा राखेर उपचार गरेर निको भए पछि उक्त गिद्धलाई प्राकृतिक वातावरण छोडिएको हो । वर्षातमा भिजेर र लामो यात्राका कारण कम्जोर भएर गिद्धलाई कैलालीको लम्की चुहास्थित लालीगुराँस सामुदायिक वनबाट उद्धार गरिएको थियो ।

सामुदायिक वनका पदाधिकारीले वन क्षेत्रमा गत साउन १९ गते बिरामीको अवस्थाको गिद्ध देखापरेपछि डिभिजन वन कार्यालय कैलालीमा खबर गरेका थिए । त्यसपछि गिद्धको उद्धार गरी उपचार गरिएको थियो । बिरामी परेको गिद्धको बर्दिया राष्ट्रिय निकुञ्जस्थित प्रकृति संरक्षण कोष(एनटिएनसी) का भेटेरिनरी चिकित्सक विकल्प कार्कीसहितको टोलीले आठ दिनसम्म उपचार गरेका हुन् ।

नवलपुरको कावासोतीमा रहेको जटायु रेष्टुराँबाट प्राकृतिक विचरणका लागि उडेको गिद्ध भारतका विभिन्न बस्ती हुँदै कैलालीको लम्की पुगेर बिरामी परेका अवस्थामा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड अफिसर ईश्वरी चौधरीले बताए । वर्षातका समयमा झुण्डबाट छुट्टिएर लामो दूरी तय गर्दा अर्ध वयस्क सानो खैरो गिद्ध पर्याप्त पानी, आहारा नपाउँदा रगतको कमी भई बिरामी परेको हुनसक्ने उनले बताए । गिद्धलाई बाह्य चोटपटक लागेको भने थिएन ।

उक्त गिद्धमा जडान गरिएको स्याटेलाईट टयागबाट प्राप्त जानकारी अनुसार गत असार २७ गते कावासोतीबाट उडेको पहिलो दिनमै जटायु रेष्टुरेन्टबाट रूपन्देहीको गैडहवा ताल नजिक गिद्ध रेस्टुरेन्ट पुगेको थियो । गैडहवा ताल नजिक गिद्ध रेस्टुरेन्टमा केहि दिन बसेर यो गिद्ध भारतको भारतको बहराइच, लखिमपुर, टिकुलिया, सीमावर्ती क्षेत्र भजनी हुँदै मसुरियासम्म हुदैँ कैलालीको लम्कीचुहा पुगेकोे फिल्ड अफिसर चौधरीले जानकारी दिए । गिद्धको खुट्टामा लगाइएको रातो स्याटेलाइट टयाग ‘जे १६’ ले उक्त गिद्धले नवलपुरको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टबाट उडान भरेको पुष्टि भएको थियो । गिद्ध उपचारपछि स्वस्थ र तन्दुरुस्त रहेको र केहि समय पछि पुनः पुरानै बासस्थानमा फर्कनेमा संरक्ष्णकर्मीहरु विश्वस्त रहेका छन ।

गिद्धको मुभमेन्ट अध्ययन गर्नका लागी कावासोतीको जटायु रेष्टुरेन्टमा रहेका सानो खैरो र डङगर प्रजातीको १ सय ६९ वटा गिद्धलाई स्याटेलाईट टयाग लगाईएको छ । ती गिद्धहरुमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट अनुमति लिएर ढाडमा ट्याग लगाइएको छ । दुई देखि तीन लाख सम्म मूल्य पर्ने स्याटेलाइट ट्याग ६० ग्रामको हुन्छ । स्याटेलाइट सम्पर्कबाट दुई–दुई घण्टामा तथ्यांक आउँछ । कुन दिशातिर कति उचाइ र गतिमा उडिरहेको भन्ने सबै तथ्यांक यसबाट पाइन्छ । घामले आफैं चार्ज हुने ब्याट्री राखिएको, ३ देखि ५ वर्षसम्म आयु रहेको स्याटेलाइट ट्यागबाट ब्याट्रीले काम गरे÷नगरेको र चार्ज रहे÷नहरेको सबैको जानकारी प्राप्त हुने भएकाले गिद्धको मुभमेन्टको अध्ययन गर्न सजिलो हुने नेपाल पंक्षी संरक्षण संघका फिल्ड अफिसर ईश्वरी चौधरीले बताए । सन् २०१८ मा कावासोतीकै डङगर प्रजातीको गिद्ध जटायु रेष्टुरेन्टबाट ११ सय किमि यात्रा गर्दै भारत र पाकिस्तानको सिमानासम्म पुगेको थियो ।

प्रकाशित : २०८२ साउन २७ गते १५:००

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI