कावासोती । आहाराको खोजीमा नवलपुरको जटायु रेष्टुरेन्टबाट हिडेको सानो खैरो गिद्ध भारतको उत्तर प्रदेशको केही भुभाग हुदैँ पश्चिम नेपालको लम्कीचुहा पुगेको छ । स्याटेलाइट ट्याग लगाइएको गिद्धको अनुगमन गर्दा कावासोती–१३को नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेन्टबाट उडेर कैलालीको लम्कीचुहा पुगेको नेपाल पंक्षी संरक्षण संघका फिल्ड अफिसर ईश्वरी चौधरीले बताए ।
कावासोतीबाट उडेको गिद्ध पहिलो दिनमै जटायु रेष्टुरेन्टबाट रूपन्देहीको गैडहवा ताल नजिक गिद्ध रेस्टुरेन्ट पुगेको थियो । गैडहवा ताल नजिक गिद्ध रेस्टुरेन्टमा केहि दिन बसेर यो गिद्ध भारतको उत्तर प्रदेश हुदैँ कैलालीको लम्कीचुहा पुगेको हो । रुपन्देहीको रूपन्देहीको गैडहवा ताल नजिक गिद्ध रेस्टुरेन्टबाट हिडेको सात दिन पछि यो गिद्ध लम्कीचुहा पुगेको र त्यसको करिब २/३ दिन पछि स्थानियले उद्धार गरेर सब डिभिजन वन कार्यालय लम्की चुहाको जिम्मा लगाएका थिए । गिद्धको खुट्टामा रहेको रातो रङको बाला (रिङ्ग)मा लेखिएको नम्बर अनुसार गिद्ध कावासोतीमा रहेको जटायु रेष्टेरेनटको भन्ने पहिचान भएको हो ।
ट्रयाक रेर्कड अनुसार कावासोतीको जटायु रेष्टुरेन्टबाट गत असार २७ गते हिडेको गिद्ध करिब ६ सय किलोमिटर दुरी तय गर्दै लम्कीचुहा पुगेको फिल्ड अफिसर चौधरीले बताए । अहिले उक्त गिद्धलाई सब डिभिजन वन कार्यालय लम्की चुहामा राखेर प्राथमिक उपचार गरिएको छ । स्थानियको सहयोगमा आईतबार उद्धार गरेर सब डिभिजन वन कार्यालय लम्की चुहामा ल्याएर राखिएको उक्त गिद्धको मंगलबार (आज) स्वास्थ्य परीक्षण गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) बर्दियाको चिकित्सक सहितकोे टोली मंगलबार लम्कीचुहा पुगेर उक्त गिद्धको स्वास्थ्य परीक्षण गरेका थिए । कम्जोर अवस्थामा रहेको गिद्धलाई चोटपटक भने लागेको छैन । उपचारमा संलग्न एनटिएनसका चिकित्सक विकल्प कार्कीका अनुसार वर्षातको पानीमा भिजेर तथा लामो दुरीको यात्रा गरेको कारणले गिद्ध कम्जोर देखिएको छ । उक्त गिद्धलाई उपचार पछि सब डिभिजन वन कार्यालय लम्कीचुहाको जिम्मा लगाईएको चिकित्सक कार्कीेले बताए । “अन्य चोट पटक छैन, लामो यात्रा र वर्षातको कारणलेकेहि दिनको आराम पछि आफै फर्केर नवलपुर जान सक्छ, अहिले सब डिभिजन वन कार्यालयको निगरानीमा राखिएको छ”, कार्कीले भने ।
गिद्धको मुभमेन्ट अध्ययन गर्नका लागी कावासोतीको जटायु रेष्टुरेन्टमा रहेका सानो खैरो र डङगर प्रजातीको १ सय ६९ वटा गिद्धलाई स्याटेलाईट टयाग लगाईएको छ । ती गिद्धहरुमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट अनुमति लिएर ढाडमा ट्याग लगाइएको छ । दुई देखि तीन लाख सम्म मूल्य पर्ने स्याटेलाइट ट्याग ६० ग्रामको हुन्छ । स्याटेलाइट सम्पर्कबाट दुई–दुई घण्टामा तथ्यांक आउँछ । कुन दिशातिर कति उचाइ र गतिमा उडिरहेको भन्ने सबै तथ्यांक यसबाट पाइन्छ । घामले आफैं चार्ज हुने ब्याट्री राखिएको, ३ देखि ५ वर्षसम्म आयु रहेको स्याटेलाइट ट्यागबाट ब्याट्रीले काम गरे/नगरेको र चार्ज रहे/नहरेको सबैको जानकारी प्राप्त हुने भएकाले गिद्धको मुभमेन्टको अध्ययन गर्न सजिलो हुने नेपाल पंक्षी संरक्षण संघका फिल्ड अफिसर ईश्वरी चौधरीले बताए । सन् २०१८ मा कावासोतीकै डङगर प्रजातीको गिद्ध जटायु रेष्टुरेन्टबाट ११ सय किमि यात्रा गर्दै भारत र पाकिस्तानको सिमानासम्म पुगेको थियो ।
प्रकाशित : २०८२ साउन २१ गते १६:३५
Facebook Comment