कावासोतीको गिद्ध बडिमालिका पुगेर अस्तायो

NAWALPUR TIMES

कावासोतीको गिद्ध बडिमालिका पुगेर अस्तायो

कावासोती । नवलपुरको कावासोती-१३ मा रहेको जटायु रेष्टुरेन्टको एउटा गिद्धले बाजुराको बडिमालिका पुगेर देह त्याग गरेको छ ।

आहराको खोजीमा ६ सय किलोमिटर उडान भरेर कैलालीको लम्किचुहा पुगेर बिरामी भएर उपचार पछि पुनर्जीवन पाएको अत्ति सङ्कटापन्न सानो खैरो गिद्धले सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल बडीमालिका पुगेर देह त्याग गरेको हो ।

Messenger creation 05066BC1 A573 42C9 B634 622876507743

गत असार २७ गते नवलपुरको कावासोतीमा रहेको जटायु रेस्टुरेन्टबाट उडेको सो गिद्ध रूपन्देहीको गैडहवा, भारतको बहराइच, लखिमपुर, टिकुलिया, सीमावर्ती क्षेत्र भजनी हुँदै मसुरियासम्म हुदैँ कैलालीको लम्कीचुहा पुगेर बिरामी भएको थियो ।

साउन १९ गते कैलालीको लम्कीचुहा नगरपालिका –६ बामनपुरस्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा बिरामी अवस्थामा भेटिएको गिद्धको बर्दिया राष्ट्रिय निकुञ्जस्थित प्रकृति संरक्षण कोष(एनटिएनसी) का भेटेरिनरी चिकित्सक विकल्प कार्कीसहितको टोलीले आठ दिनसम्म उपचार गरेका थिए ।

उपचार पछि निको भएपछि चिकित्सकबाट जाँचगरी साउन २७ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिएको सानो खैरो गिद्धले पुनः फन्को लगाउँदै बाजुरास्थित धार्मिक क्षेत्र बडीमालिका पुगेर देह त्याग गरेको हो ।

केही समय शुक्लाफाँटाको अर्जुनी क्षेत्रमा बिताएको जिपिएस ट्याग लगाइएको सो गिद्ध कैलालीको मसुरियाहुँदै सुर्खेतसम्म पुगेको थियो । त्यसपछि अछामको पायलहुँदै बाजुराको बडीमालिका मन्दिरसम्म पुगेको उक्त गिद्धमा जडान गरिएको स्याटेलाईट टयागबाट जानकारी प्राप्त भएको चराविद हिरुलाल डङ्गौराले बताए ।

गत भदौको १० गते आसपास बडिमालिका मन्दिर आसपास पुगेको उक्त गिद्ध पुन: बिरामी परेर मरेको हुन सक्ने नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड अफिसर ईश्वरी चौधरीले बताए । उडने क्रममा चिसो हावापानी भएको क्षेत्रमा पुगेको तथा झरीमा भिजेर कम्जोर हुँदै गए पछि उक्त गिद्ध मरेको चौधरीले बताए ।

गिद्धको खुट्टामा लगाइएको रातो स्याटेलाइट टयाग ‘जे १६’ ले उक्त गिद्धले नवलपुरको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टबाट उडान भरेको पुष्टि भएको थियो ।

गिद्धको मुभमेन्ट अध्ययन गर्नका लागी कावासोतीको जटायु रेष्टुरेन्टमा रहेका सानो खैरो र डङगर प्रजातीको १ सय ६९ वटा गिद्धलाई स्याटेलाईट टयाग लगाईएको छ । ती गिद्धहरुमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट अनुमति लिएर ढाडमा ट्याग लगाइएको छ । दुई देखि तीन लाख सम्म मूल्य पर्ने स्याटेलाइट ट्याग ६० ग्रामको हुन्छ । स्याटेलाइट सम्पर्कबाट दुई–दुई घण्टामा तथ्यांक आउँछ । कुन दिशातिर कति उचाइ र गतिमा उडिरहेको भन्ने सबै तथ्यांक यसबाट पाइन्छ । घामले आफैं चार्ज हुने ब्याट्री राखिएको, ३ देखि ५ वर्षसम्म आयु रहेको स्याटेलाइट ट्यागबाट ब्याट्रीले काम गरे/नगरेको र चार्ज रहे/नहरेको सबैको जानकारी प्राप्त हुने भएकाले गिद्धको मुभमेन्टको अध्ययन गर्न सजिलो हुने नेपाल पंक्षी संरक्षण संघका फिल्ड अफिसर ईश्वरी चौधरीले बताए । सन् २०१८ मा कावासोतीकै डङगर प्रजातीको गिद्ध जटायु रेष्टुरेन्टबाट ११ सय किमि यात्रा गर्दै भारत र पाकिस्तानको सिमानासम्म पुगेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology