नवलपुर–२ को विकासको जिम्मा ओम मार्फत गगनलाई दिन उपसभापति शर्माको अपिल

NAWALPUR TIMES

नवलपुर–२ को विकासको जिम्मा ओम मार्फत गगनलाई दिन उपसभापति शर्माको अपिल

कावासोती । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवलपुर क्षेत्र नम्बर–२ को जिम्मा कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीमार्फत भावी प्रधानमन्त्री गगन थापालाई दिन मतदातासँग आग्रह गरेका छन् ।

कांग्रेस नवलपुर क्षेत्र नम्बर–२ ले दुम्किबासमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उपसभापति शर्माले नवलपुरको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि प्रतिनिधि सभामा ओमबहादुर घर्ती आवश्यक रहेको बताए । “गगन थापालाई प्रधानमन्त्री बनाउँदै गर्दा प्रतिनिधि सभामा हामीलाई ओमबहादुर घर्ती चाहिन्छ,” उनले भने, “नवलपुरको समृद्धिको जिम्मा ओममार्फत गगनलाई दिनुहोस् ।”

उनले कांग्रेस उम्मेदवार घर्तीले अघि सारेका योजना र प्रस्ताव व्यक्तिगत नभई अब बन्ने प्रधानमन्त्री गगन थापाको साझा योजना र प्रस्ताव भएको उल्लेख गरे । “नवलपुर–२ मा ओम घर्तीले तयार पारेका योजना, गरेको प्रस्ताव कांग्रेसको मात्रै होइन, गगन थापाको पनि योजना हो,  प्रस्ताव हो,” शर्माले भने, “त्यसैले यी योजनालाई कार्यान्वयन गर्न ओमलाई जिताएर संसदमा पठाउनुस् ।”

उपसभापति शर्माले जेन–जी युवाले चाहेको राजनीतिक परिवर्तन कांग्रेसले पार्टीभित्रै सुरु गरिसकेको दाबी गर्दै अब देश परिवर्तनका लागि कांग्रेसलाई बहुमत दिनुपर्ने आवश्यकता औंल्याए । विषम परिस्थितिमा कांग्रेसकै नेतृत्वमा मुलुकले निकास पाउँदै आएको उल्लेख गर्दै उनले फागुन २१ को निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मतदातासँग आग्रह गरे ।

कार्यक्रममा कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछाने, उम्मेदवार ओम बहादुर घर्ती, जिल्ला उपसभापति चन्द्र बहादुर राना, क्षेत्रीय सभापति सुर्य गुरुङले सम्बोधन गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology