नवलपुर, २८ फागुन
देवचुली नगरपालिकामा आगामी चैत १ गतेदेखि जापानीज इन्सेफलाइटिस विरुद्धको बृहत् खोप अभियान सञ्चालन हुने भएको छ। प्रदेश स्वास्थ्य कार्यालय नवलपुरको निर्णय अनुसार जिल्लाका आठवटै स्थानीय तहमा एकैसाथ अभियान सञ्चालन गरिने भए पनि देवचुली नगरपालिकामा विशेष तयारी गरिएको छ।
देवचुली नगरपालिकाका स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठका अनुसार नगरपालिकाभित्रका १७ वटै वडामा २३ हजार २ सय ८३ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। यो खोप अभियान विशेषगरी ३५ वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई लक्षित गरिएको छ। अभियान चैत १ गतेदेखि सुरु भई चैत ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रमुख श्रेष्ठका अनुसार हाल देशभरका ७७ जिल्लामध्ये नवलपुरमा मात्र यो विशेष खोप अभियान सञ्चालन हुन लागेको हो। खोप अभियानलाई सफल बनाउन आवश्यक जनशक्ति परिचालन, खोपको मौज्दात तथा अन्य व्यवस्थापनका कामहरू तीव्र गतिमा अघि बढाइएको उनले बताए।
“३५ वर्षभन्दा माथिका सबै नागरिकलाई यो खोप पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइनेछ,” श्रेष्ठले भने, “निजी स्वास्थ्य संस्थामा यही खोप लगाउँदा करिब ३ हजार रुपैयाँसम्म खर्च लाग्छ, तर सरकारले नागरिकलाई यो सेवा निःशुल्क प्रदान गर्दैछ।”
देवचुली नगरपालिकाका प्रमुख हरी प्रसाद न्यौपानेले जापानीज इन्सेफलाइटिस विरुद्धको खोप अत्यन्त प्रभावकारी भएकाले लक्षित सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्। उनले जीवनमा एकपटक लगाएपछि लामो समयसम्म रोगबाट सुरक्षा प्रदान गर्ने भएकाले यसलाई स्वास्थ्य सुरक्षाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताए।
“आफ्नो स्वास्थ्य सुरक्षाका लागि नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउन सबैलाई आग्रह गर्दछु,” नगर प्रमुख न्यौपानेले भने।
उनले खोप अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले स्वास्थ्यकर्मी, स्वयंसेवक तथा वडास्तरका जनप्रतिनिधिसँग समन्वय गरी व्यापक तयारी गरिएको जानकारी दिए। नगरभित्रका सबै वडामा खोप केन्द्र तोकिएको र लक्षित समूहलाई सहज रूपमा खोप उपलब्ध गराइने व्यवस्था मिलाइएको उनले बताए।
जापानीज इन्सेफलाइटिस ‘क्युलेक्स’ नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। विशेषगरी धान खेती हुने ग्रामीण क्षेत्र तथा बङ्गुर र हाँस पालन हुने स्थानमा यसको जोखिम बढी हुन्छ। संक्रमित बङ्गुर वा हाँसजस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्ने गर्दछ भने मानिसबाट मानिसमा भने सर्दैन।
स्वास्थ्य प्रमुख श्रेष्ठका अनुसार देवचुलीका धेरै क्षेत्रमा बङ्गुर तथा हाँस पालन र धान खेती हुने भएकाले यहाँका बासिन्दा उच्च जोखिममा छन्। जोखिम न्यूनीकरणका लागि खोप अभियानलाई प्राथमिकतामा राखिएको उनले बताए। नवलपुरमा सन् २०२२ यता जापानीज इन्सेफलाइटिसका कारण १३ जनाको मृत्यु भइसकेको छ भने ३८ जना संक्रमित भेटिएका छन्
Facebook Comment