नवलपुरमा डेढ लाख जनालाई जापानीज इन्सेफ्लाईटिस बिरुद्धको खोप लगाईंदै

नवलपुरमा डेढ लाख जनालाई जापानीज इन्सेफ्लाईटिस बिरुद्धको खोप लगाईंदै

नवलपुर । नवलपुर जिल्लामा आगामी फाल्गुन २९ गतेदेखि जापानीज इन्सेफलाइटिस विरुद्धको बृहत् खोप अभियान सञ्चालन हुने भएको छ ।

प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका ८ वटै स्थानीय तहमा एकैसाथ अभियान सुरु गरी करिब १ लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखेको कार्यालय प्रमुख केशब चापागाईंले बताए ।

हाल देशभरिका ७७ जिल्लामध्ये नवलपुरमा मात्र यो विशेष अभियान सञ्चालन हुन लागेको उनको भनाई छ । ३५ वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई लक्षित गरिएको यो खोप अभियान चैत्र ५ गतेसम्म सञ्चालन हुनेछ ।

“हामीले जिल्लाका आठवटै पालिकाका स्वास्थ्य शाखाहरूसँग समन्वय गरेर काम अगाडि बढाइरहेका छौँ । खोप लगाउनका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ र यसका लागि आवश्यक पर्ने जनशक्ति तथा खोपको मौज्दात सुनिश्चित गरिसकिएको छ । निकै मेहनत गरेर हामी जिल्लामा यो अभियान चलाउन सफल भएका हौं । ‘प्रमुख चापागाईंले भने ।

३५ बर्ष माथिका सबै नागरिकलाई यो खोप निशुल्क प्रदान गरिने उनले बताए ।’नागरिकले यो बुझ्न जरुरी छ कि निजी स्वास्थ्य संस्थाहरूमा यो खोपको मूल्य ३ हजार रुपैयाँसम्म पर्दछ, तर हामीले यो सेवा पूर्ण रूपमा निशुल्क प्रदान गर्दैछौँ । यो खोप जीवनमा एक पटक लगाएपछि जीवनभरका लागि काम गर्ने भएकाले सबै ३५ वर्ष माथिका नागरिकलाई सहभागी हुन म आग्रह गर्दछु ।” उनले भने ।

जापानीज इन्सेफलाइटिस खासगरी ‘क्युलेक्स’ नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । विशेष गरी धान रोपाइँ बढी हुने ग्रामिण क्षेत्र साथै बङ्गुर, हाँस लगायत पन्छी पालनमा संलग्न समुदाय यसको उच्च जोखिममा रहने जनस्वास्थ्य अधिकृत प्रबिणकुमार खनालले बताए । जापानीज इन्सेफ्लाईटिस संक्रमित बङुर तथा हाँस लगायतका पंक्षिलाई टोकेर संक्रमित भएको लामखुट्टे ले मानिसलाई टोक्दा यो रोग सर्ने खनालको भनाई छ । यो रोग मान्छे बाट मान्छेमा भने सर्दैन ।

‘यो रोग विशेष गरी बंगुर पालन, हाँस पालन भएका र धान रोपाइँ बढी हुने क्षेत्रमा छिटो फैलने सम्भावना रहन्छ । नवलपुरका धेरै क्षेत्रहरू यस्ता गतिविधिमा संलग्न भएकाले यहाँका बासिन्दाहरू यसको उच्च जोखिममा छन् । त्यसैले हामीले जोखिम न्यूनीकरणका लागि यो खोप अभियानलाई प्राथमिकतामा राखेका हौँ ।’जनस्वास्थ्य अधिकृत खनाल ले भने ।’ एक पटक खोप लगाएपछि यसले दीर्घकालीन सुरक्षा दिने भएकाले फाल्गुन २९ देखि ५ गतेसम्म सञ्चालन हुने शिविरमा पुगेर खोप लगाउन उनले लक्षित समुहलाई आग्रह गरें ।

नवलपुर जिल्लामा सन् २०२२ यता यो रोगका कारण १२ जनाको ज्यान गैसकेको छ भने ३८ जना संक्रमित भेटिएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology