एआई प्रयोग गर्नुहुन्छ ? भुलेर पनि यी ७ कुरा भन्नु हुँदैन

NAWALPUR TIMES
प्रकाशित : २०८१ माघ १७ गते २२:२३
एआई प्रयोग गर्नुहुन्छ ? भुलेर पनि यी ७ कुरा भन्नु हुँदैन
Chat GPT Search Engine 768x432

कावासोती । अहिले विश्वमा च्याट जीपीटी, बार्ड, बिंग एआई जस्ता च्याटबोटको प्रयोग दिनानुदिन बढ्दै गएको छ । तर, यी च्याटबोट प्रयोग गर्ने क्रममा न्यूनतम सावधानी नअपनाउँदा कतिपयको तथ्यांक जोखिममा पर्ने गरेका छन् ।

विशेष गरी व्यक्तिगत जानकारी सेयर गर्दा हुने गोपनीयता उल्लंघन र साइबर आक्रमणको जोखिम बढ्ने विज्ञहरूले चिन्ता गरेका छन् ।

प्रयोगकर्ताले प्रदान गर्ने तथ्यांक विश्लेषण गरेर यी च्याटबोटहरूले आफ्नो भाषा मोडल सुधारिरहेका हुन्छन् । यसकारण, कुनै पनि संवेदनशील जानकारी दिँदा सावधानी अपनाउनु अत्यावश्यक हुन्छ ।

एआई च्याटबोटसँग कहिल्यै सेयर गर्न नहुने सात प्रकारका जानकारीबारे यहाँ विस्तृत चर्चा गरिएको छ ।

१. वित्तीय र बैंकिङ विवरण
च्याटबोटसँग वित्तीय र बैंकिङ विवरण, जस्तै; बैंक खाता नम्बर, क्रेडिट कार्डको जानकारी वा अन्य वित्तीय जानकारी च्याटबोटलाई कहिल्यै दिनु हुँदैन ।

सीएफपीबी (कन्ज्युमर फाइनान्सियल प्रोटेक्सन ब्यूरो)को एक प्रतिवेदनले बैंकिङ र वित्तीय संस्थाहरू च्याटबोट प्रविधिमा निर्भर हुँदा समस्या आउने गरेको उल्लेख गरेको छ ।

यसो गर्दा उपभोक्ताले ठोस जानकारी प्राप्त गर्न नसक्ने, विवाद समाधान गर्न समस्या हुने र गोपनीयता जोखिम हुनसक्ने उक्त प्रतिवेदनमा लेखिएको छ ।

प्रयोगकर्ताले आफ्नो वित्तीय जानकारी दिन नहुने र वित्तीय संस्थाहरूले पनि सुविधा दिँदा च्याटबोटमा भर पर्न नहुने सल्लाह उक्त प्रतिवेदनमा दिइएको छ ।

२. व्यक्तिगत जानकारी 
एआई च्याटबोटमा व्यक्तिगत रूपमा पहिचान गर्न सकिने जानकारी कहिल्यै सेयर गर्नुहुँदैन । पूर्ण नाम, घरको ठेगाना, सामाजिक सुरक्षा नम्बर, पासपोर्ट विवरण, क्रेडिट कार्ड नम्बरजस्ता जानकारी गलत हातमा परेमा अनधिकृत पहुँच र दुरुपयोगको जोखिम बढ्छ ।

३. कार्यालयको गोप्य जानकारी
एआई च्याटबोटसँग कार्यालयका गोप्य वा निजी विवरणहरू सेयर गर्दा ठूलो जोखिम हुनसक्छ । सामसङका एक कर्मचारीले च्याट जीपीटी प्रयोग गर्ने क्रममा गोप्य कोड अपलोड गरेपछि कम्पनीको जानकारी चुहावट भएको घटनाले ठूलो रूप लिएको थियो ।

त्यसपछि सामसङले आफ्ना कर्मचारीहरूलाई एआई च्याटबोटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । एप्पल, गूगल र जेपी मोर्गान जस्ता प्रमुख कम्पनीले पनि कर्मचारीहरूलाई एआई च्याटबोटको प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् ।

४. पासवर्ड र सुरक्षा कोडहरू
पासवर्ड, पिन वा सुरक्षा कोडजस्ता संवेदनशील जानकारी पनि एआई च्याटबोटसँग कहिल्यै सेयर गर्नु हुँदैन । च्याटबोटहरूले गोपनीयता कायम गर्न डिजाइन गरिएका भए पनि प्रयोगकर्ताको खाताको सुरक्षा सुनिश्चित गर्न यस्ता विवरणहरू गोप्य राख्नुपर्छ ।

५. गोप्य वा स्वामित्व सम्बन्धी जानकारी
कम्पनीको व्यापारिक रहस्य, बौद्धिक सम्पत्ति वा अन्य गोपनीय विवरणहरू च्याटबोटसँग सेयर गर्दा व्यावसायिक क्षति हुनसक्छ ।

व्यवसायको प्रतिस्पर्धात्मकता र अखण्डता कायम राख्न यस्तो जानकारी गोप्य राख्नुपर्ने सल्लाह विज्ञहरूले दिएका छन् ।

६. स्वास्थ्य सम्बन्धी जानकारी
आफ्नो चिकित्सकीय अवस्था, निदान, उपचार विवरण वा औषधि सम्बन्धी जानकारी एआई च्याटबोटसँग सेयर गर्नु हुँदैन । यस्तो संवेदनशील स्वास्थ्य विवरण केवल योग्य स्वास्थ्य पेशाकर्मीहरूसँग मात्र सुरक्षित रूपमा सेयर गर्नुपर्छ । स्वास्थ्य जानकारीको दुरुपयोग वा गोपनीयता उल्लंघन रोक्न सावधानी अपनाउनु आवश्यक छ ।

७. निजी वा संवेदनशील सामग्री
एआई च्याटबोटसँग कुनै पनि निजी वा संवेदनशील फोटो, भिडियो वा सामग्री सेयर गर्न नहुने सुझाव विज्ञहरूले दिएका छन् ।

यस्तो सामग्रीले गोपनीयता उल्लंघन, अनधिकृत पहुँच वा दुरुपयोगको जोखिम बढाउन सक्छ । च्याटबोटहरू स्वचालित प्रणाली हुन्, जसले यस्ता सामग्रीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्दैनन् ।-एजेन्सीको सहयोगमा

प्रकाशित : २०८१ माघ १७ गते २२:२३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI