नवलपुर टाईम्स अर्काइभ : तीन तिरको पहिरोको चपेटामा अर्खला, पहिरो रोक्ने वाचा गरेर जितेका नेताले बिर्सिए
सन्जय भट्टराई प्रकाशित : २०८१ फागुन २७ गते ११:४६
तस्बिरहरु : राजु सुवेदी "कल्पित"
कावासोती । उमेरले तीन बीसको हाराहारीमा पुगेका बुलिङ्गटार वडा नं ४ का वडा अध्यक्ष मिनबहादुर आलेलाई यतिबेला पिरैपिरले गिजोलेको छ । वडा अध्यक्ष बन्नु अगाडी पनि सामाजिक कार्यकर्ता भएर समाजसेवामा लागेका उनी यति बेला सिङ्गो गाउँलाई तीन तीरबाट पहिरोले घेरेपछि पटक पटक गाउँ जोगाउन भन्दै दलका नेता, सासंद मन्त्री सबैको दैलोमा धाए । पटक पटक धाउदा पनि कसैले कुरा नसुनिदिए पछि गाउँ जोगाउने चिन्ताले उनी औधी पिरोलिएका छन । “गाउँलाई तीन तिर बाट पहिरोले घेरेको छ, कति बेला पहिरो खसेर गाउँनै लैजान्छ, पानी पर्यो कि कति बेला के हुने हो भन्ने डरले अत्ताउछ”, अध्यक्ष आलेले भने ।
बुलिङ्गटार गाउँपालिकाको वडा नं ४ को अखर्ला गाउँ यतिबेला तीन तिर बाट पहिरोले घेरिएको हो । साना गोरेटोबाटोलाई फराकिलो पार्न डोजर प्रयोग गरिपछि बिस्तारै सिङ्गो गाउनै पहिरोको जोखिममा परेको हो ।
पहिरोको उच्च जोखिममा गाउँका बालबालिका पढने २०१६ मा स्थापना भएको सेतिनाग माध्यमिक विद्यालय रहेको छ । विद्यालयको मुख्य भवनको लगभग एक सय मिटर पछाडी पट्टी पहिरो आईपुगेको छ । हिउँदमा पहिरो बिर्सिए पनि बर्खा लागे सँगै यहाँका २ सय ४२ विद्यार्थी र १८ जना शिक्षक शिक्षिकाको ध्यान पढाईमा भन्दा पहिरोमा जाने गरेको छ । “पानी परेको बेला पढाई भन्दा पहिरोले ध्यान तान्छ, कति बेला पहिरो खस्छ भन्ने डरले पढाईमा ध्यानै जादैन”, कक्षा १० की आरती बरालले भनिन । बराल जस्तै अर्का विद्यार्थी जीवन मुग्मिन मगरले बर्खाको बेला कक्षा भित्र निकै डर लाग्ने गरेको बताए । “हाम्रो स्कुल नजिकै पहिरो आईसक्यो, पढने बेला पानी पर्दा बेस्सरी डर लाग्छ”, उनले भने, “यो पहिरो रोकथाम भएन भने यस्ले विद्यालयलाई जोखिममा पार्छ, कहिले काही बेस्सरी डर लाग्छ, कसैले सहयोग गरेर भए पनि यो पहिरो रोकथामका लागी पहल गरिदिए हुन्थयो ।”
बाटो फराकिलो बनाउदै जादाँ गाउँमा पहिरो जोखिम बढेको सेतीनाग माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर सुस्लीङले बताए । पहिरोको रोकथाम नगर्ने हो भने विद्यालय सँगै सिङ्गो अर्खला गाउँनै पहिरोको चपेटामा पर्न सक्ने उनले बताए । आफु स्थानिय पनि भएकाले पहिरोबाट विद्यालय र गाउँलाई जोगाउन सडक बनाउदाँ बायो ईन्जिनियरिङ गरेर बनाउने तथा पहिरोको रोकथामका लागी बजेट माग्दै स्थानिय तह देखि सडक डिभिजन कार्यालय बुटवल सम्म पुगेको भए पनि सुनवाई नभएको उनको गुनासो थियो । पहिरो खसेर कति बेला लैजान्छ भन्ने डरले कक्षा भित्र विद्यार्थीहरु मानसिक रुपमा पठनपाठन गर्न तयार नहुने गरेको उनी बताउछन । “विद्यालय र सिङ्गो गाँउ जोगाउन पटक पटक यस क्षेत्रका जनप्रतिनिधीलार्ई भन्ने गरेका छौ तर सुनुवाई भएको छैन, पढाउदा पढाउदै कति बेला ठुलो दुघर्टना हुन्छ भन्ने डर बोकर शिक्षकहरु कक्षा प्रवेश गर्नु पर्ने अवस्था छ”, उनले भने ।
विद्यालय नजिकै पहिरो खसे पछि बर्खाको बेला बालबालिका विद्यालयबाट घर नर्फकिदा सम्म पिरालो हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर पुलामी बताउछ्न । विद्यालय सँगसँगै सिङ्गो गाउँ पहिरोको उच्च जोखिममा भएको भए पनि जनप्रतिनिधिको ध्यान यस्को रोकथाममा नगएको उनी गुनासो गर्छ्न । त्यसो त विद्यालयलाई स्थानान्तरण गर्ने कुरा पनि नचलेको होइन तर अन्य ठाउँ नभएकाले विद्यालय स्थानान्तरणको सम्भावना नरहेको उनी बताउछ्न । “विद्यालय र गाउँ दुवै अन्त सार्ने ठाउ पनि छैन सम्भावना पनि छैन, एउटै उपाय भनेको पहिरो रोकथाम हो”, उनले भने ।
त्यसो त अर्खला गाउँ रहेको निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका प्रभावशाली नेता डा शशांक कोईरालाले २०७९ सहित ४ पटक सम्म चुनाव जिते, अर्खला सँगै जोडिएको नवलपुर १ क बाट २०७४मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेका थिए भने गत २०७९ मा सम्पन्न निर्वाचन बाट प्रदेश सभा क मा निर्वाचित नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका महेन्द्रध्वज जिसी प्रदेश मन्त्री बने भने नेकपा एमाले नवलपुरका पूर्व जिल्ला अध्यक्ष रोशन गाहा यसै क्षेत्रबाट जितेर प्रदेश मन्त्री बने तर यहाँको समस्या भने जस्ताको त्यस्तै छ ।
कोइराला देखि जिसी सम्मका नेतालाई पटक पटक पहिरोको जोखिमका बारेमा जानकारी गराएको भए पनि सुनुवाई नभएको वडा अध्यक्ष आलेको गुनासो थियो । “पालिकाको पुरै बजेट छुट्टयाए पनि पुग्दनै, यो पहिरो रोक्न ठुलो बजेट चाहिन्छ, पटक पटक कोईराला देखि जिसी सम्म कुरा पुर्याएको छु” वडा अध्यक्ष आलेले भने, “आस मरेको छैन,फाईल तयार पारेर केहि दिन पछि काठमाडौ जान्छु, नेता, सांसद, मन्त्रीकोमा पुग्छु, कसो सुनवाई नहोला ।”
वि.स १९१८ देखि बस्ती बस्न सुरु गरेको अर्खलामा अहिले १८० घरधुरी रहेका छ्न । वैदेशिक रोजगार पछि आर्थिक रुपले सबल भएका हरुले बिस्तारै गाउँ छोडदै गएकाले गाउँ पातलो हुँदै गएको छ । गाउँमा सडक बिस्तार गर्ने क्रममा डाँडा काटिए पछि बिस्तारै पहिरो खस्न सुरु भएको हो । “गाउँको दक्षिण, उत्तर र पश्चिम हुदै सडक त बने सडक सँगै निम्तिएको पहिरोले बर्खा लागै सँगै अर्खला बासी पहिरोको कारणले निदाउन सक्दैनन । पहिरो रोकथाम भएन भने कुनै दिन अर्खला गाउँनै खाली पनि हुन सक्छ”, वडा अध्यक्ष आलेले भने ।
पहिरोको जोखिममा सिङ्गो गाउँनै रहेकोले पहिरो रोकथाम र पहिरो नखस्ने गरि सडक निर्माणकालागि आफुले अर्थमन्त्री र शहरी विकास मन्त्री सँग कुरा अगाडी बढाएको नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालाले बताए । “तीन तिरको पहिरोको जोखिममा सिङ्गो गाउँ छ, मैले स्थलगत रुपमा गएर पनि हेरेको छु, यो सानो बजेटले हुन्न, अर्थ र सहरी विकास मन्त्री सँग गम्भीर कुरा भएको छ, पहिरो रोकथाम सँगै पहिरो नखस्ने गरि सडक बनाउन आवश्यक बजेट व्यवस्थापन हुन्छ” कोइरालाले टेलिफोन कुराकानीमा भने ।
Facebook Comment