एमाले नवलपुरद्वारा सरकारलाई ज्ञापनपत्र, ओली–लेखकको रिहाईको माग

एमाले नवलपुरद्वारा सरकारलाई ज्ञापनपत्र, ओली–लेखकको रिहाईको माग

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुर जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओली र रमेश लेखकको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

जिल्ला कमिटीले प्रधानमन्त्रीको कार्यालय मार्फत प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा २०८२ चैत १४ गते गरिएको गिरफ्तारीलाई गैरकानुनी, प्रतिशोधपूर्ण र लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गरिएको छ।

एमालेले राज्यशक्तिको दुरुपयोग गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो कदमले समाजमा त्रास र अस्थिरता बढाउने चेतावनी दिएको छ। ज्ञापनपत्रमा उक्त गिरफ्तारी तत्काल फिर्ता लिन र दुवै नेतालाई रिहा गर्न जोडदार माग गरिएको छ।

त्यसैगरी, भदौ २३ र २४ गते भएका आन्दोलनका घटनाबारे छानबिन गर्न गठित गाैरी बहादुर कार्की नेतृत्वको आयोगप्रति पनि एमालेले असहमति जनाएको छ। प्रतिवेदन पक्षपाती ढंगले तयार पारिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरिएको छ।

एमाले नवलपुरले वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यताबाट विचलित भएको आरोप लगाउँदै सत्यतथ्य छानबिन गर्न माग गरेकाे छ । ज्ञापनपत्रमा पार्टीका जिल्ला सचिव भीमलाल कँडेल र उपाध्यक्ष यमुनाथ आचार्यले हस्ताक्षर गरेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology