एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८२ मंसिर ११ गते ११:२१
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा बिहीबार दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् ।

पौने १२ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनीले अपराजित सुदूरपश्चिमको सामना गर्न लागेको हो । लुम्बिनीले ३ खेल खेल्दा १ जित र २ हारको नतिजा निकालेको छ । सुदूरपश्चिमले ३ खेल खेल्दा ३ वटै जितेको छ ।

यस खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान र उपकप्तानबीचको भिडन्त पनि रहनेछ ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराउँदा त्यसपछि कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको छ ।

सुदूरपश्चिमले काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स र कर्णाली याक्ससँगको खेल जितेर आएको छ । हालसम्म अपराजित रहने सुदूरपश्चिम एक्लो टोली हो ।

दुई टोलीबीच गत संस्करण भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।

यस्तै आजै हुने अर्को खेलमा दुई जितविहीन टोली भिड्दै छन् । जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दुवैले हालसम्म खेलेका २ वटै खेल हारेका छन् ।

जनकपुर काठमान्डु गोर्खाज र विराटनगर किङ्ससँग पराजित भएको थियो भने पोखरा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

गत संस्करणमा भएको खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको जित हासिल गरेको थियो ।

अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।

जनकपुर र पोखरा २ खेलमा अंकविहीन रहँदै क्रमश: सातौं र आठौं स्थानमा छन् ।

प्रकाशित : २०८२ मंसिर ११ गते ११:२१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI