काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन् ।
चितवनले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ । चितवनले कर्णाली याक्सलाई पहिलो खेलमा हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने त्यसपछि विराटनगरलाई हराउँदा काठमान्डु गोर्खाजसँग पराजित भयो ।
आजको खेल जितेमा चितवनको प्लेअफ सम्भावना मजबुत हुनेछ । चितवनले यसपछि सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । सबै खेल जितेमा प्लेअफ पक्का हुनेछ ।
अर्कोतर्फ जनकपुरले ४ खेल खेल्दा कुनैपनि खेल जितेको छैन । जनकपुरले काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको छ ।
आजको खेलमा पराजित भएमा जनकपुर बाहिरिनेछ । यो खेल जितेर जनकुर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ ।
त्यस्तै आजै अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ । पोखरा र कर्णालीका लागि पनि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ ।
चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । ५ खेलमा १ खेल मात्र जितेको कर्णाली भने आजको खेलमा पराजित भएमा बाहिरिनेछ ।
प्रकाशित : २०८२ मंसिर १६ गते ९:५१
Facebook Comment