कावासोती । आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व सिमसार दिवस मनाइँदैछ। मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्रहरू दिनानुदिन संकटमा पर्दै गएकाले तिनको संरक्षण र महत्त्वबारे सचेतना जगाउन यो दिवसमा विशेष जोड दिइएको छ।
राष्ट्रिय सिमसार नीति, २०५९ का अनुसार नेपालका तराईका सिमसार क्षेत्रहरू जैविक विविधताले निकै धनी छन्, जहाँ ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चरा, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन्। सिमसारले जैविक विविधता मात्र नभई बाढी, पहिरो र अतिवृष्टि जस्ता प्राकृतिक प्रकोपविरुद्ध सुरक्षा कवचको रूपमा समेत काम गर्छ।
संसारका करिब ३ अर्ब मानिसले खाने चामल सिमसार क्षेत्रकै दलदले माटोले उत्पादन गर्ने भएकाले यसको आर्थिक र खाद्य सुरक्षामा पनि ठूलो योगदान छ। नेपालका १० वटा महत्वपूर्ण क्षेत्रहरू अन्तर्राष्ट्रिय महत्त्वको ‘रामसार’ सूचीमा सूचीकृत छन्, जसले कुल ६० हजार ५६१ हेक्टर क्षेत्रफल ओगटेका छन्।
नेपालमा पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा समावेश गरिएको थियो। त्यसयता बीसहजारी ताल, घोडाघोडी ताल, जगदीशपुर जलाशय, रारा, से–फोक्सुण्डो र गोसाइँकुण्ड जस्ता प्रसिद्ध क्षेत्रहरू पनि यो सूचीमा थपिँदै गएका छन्।
यसैगरी गोक्यो ताल, माईपोखरी र पोखरा उपत्यकाका विभिन्न तालहरू पनि रामसार सूचीमा सूचीकृत भइसकेका छन्। तर यति महत्वपूर्ण प्राकृतिक स्रोतहरू भए पनि पछिल्लो समयमा बढ्दो सहरीकरण र बेवास्ताका कारण सिमसार क्षेत्रहरू खुम्चिँदै र मासिँदै गएका छन्।
सिमसारको विनाश हुनु भनेको त्यहाँ आश्रित दुर्लभ चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान हराउनु मात्र नभई मानवीय सभ्यताकै लागि ठूलो जोखिम निम्त्याउनु हो। त्यसैले यस्ता प्राकृतिक सम्पदाको दिगो संरक्षणका लागि स्थानीयदेखि केन्द्रीय तहसम्मै प्रभावकारी कदम चाल्न आवश्यक देखिएको छ।
Facebook Comment