आज मदन आश्रित स्मृति दिवसः दासढुंगामा एमालेको कार्यक्रम

NAWALPUR TIMES
प्रकाशित : २०८२ जेठ ४ गते ८:५२
आज मदन आश्रित स्मृति दिवसः दासढुंगामा एमालेको कार्यक्रम

कावासोती । नेकपा एमालेले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित (मदन–आश्रित) स्मृति दिवस देश भरि विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ ।पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई स्मृति सभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्य गर्न भनिएको छ ।

एमाले जनताको बहुदलीय जनवादको दिशानिर्देश बमोजिम अगाडि बढिरहेको र मुलुकको बाम तथा प्रजातान्त्रिक आन्दोलनका साथै पार्टी निर्माणमा मदन–आश्रितको देन, उत्सर्ग र समर्पणको सम्मान गर्दै सिर्जनात्मक कार्यक्रम आयोजना गर्न केही दिनअघि महासचिव शंकर पोखरेलले शर्कुलरमार्फत् निर्देश गरेका छन् । पार्टीले जिल्ला कमिटीहरूद्वारा गरिने स्मृति सभामा अन्य पार्टीका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरूलाई समेत आमन्त्रण गर्न सुझाव दिइएको छ ।

स्मृति दिवसमा रक्तदान, स्थानीय टेलिभिजन तथा रेडियोहरूमा परिसंवाद, सरसफाइ कार्यक्रम, स्वास्थ्य शिविर, वृक्षारोपण कार्यक्रम राख्न निर्देशन दिइएको छ । त्यस्तै स्थानीय तहका जनप्रतिनिधिलाई अनिवार्य रूपमा श्रमदानमा चौतारो निर्माण, कुलो, पैनी, बगैँचाको हेरचाह, फुटबल, भलिबल ग्राउण्ड सरसफाइ, सार्वजनिक धारा, कुवा सरसफाइ, देउराली, मन्दिर, गुम्बा र अन्य धार्मिक स्थलको सरसफाइ लगायतका कार्यहरू गर्न परिपत्रमा निर्देश गरिएको छ ।

जनसङ्गठनलाई सामूहिक श्रमदानमा आधारित युवा केन्द्रित कार्यक्रमहरू गर्न र मातहत कमिटीमार्फत गराउनका लागि निर्देशन दिइएको छ । प्रवासका कमिटीहरूलाई समेत स्मृति दिवस मनाउन परिपत्र गरिएको छ । पार्टी केन्द्रीय कार्यालयको आयोजनामा मदन नगर बल्खुमा बिहान ८ बजेको स्मृति कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जाँदैछन् । यस्तै एमाले चितवनको आयोजनामा जिप दुर्घटनास्थल चितवनको दासढुंगामा श्रद्धान्जली सभाको आयोजना हुँदैछ । जननेता भण्डारी र आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा गाडी दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो ।

प्रकाशित : २०८२ जेठ ४ गते ८:५२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI