नवलपुर सहित निकुञ्जको पश्चिम सेक्टरमा बाघ गणना सकियो

नवलपुर सहित निकुञ्जको पश्चिम सेक्टरमा बाघ गणना सकियो

कावासोती । गत पुस ३ गते देखि सुरु गरिएको
बाघ गणनाको काम नवलपुर सहित चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा सकिएको छ ।

नवलपुरको त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गरिएको बाघ गणनाको काम सम्पन्न भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । उनका अनुसार पहिलो भाग अन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिएको थियो । नवलपुर सहित पश्चिम सेक्टरमा गणनाको काम सकिए पछि गणनाका लागि जडान गरिएका क्यामेराहरुको काम संकलन सुरु गरिएको छ । थापाका अनुसार सोमबार सम्म पहिलो भागमा जडान गरिएका सबै क्यामेरा संकलन गर्ने काम सकिनेछ ।

पहिलो भागको तथ्यांक क्यामेराबाट प्रविष्ट गरे पछि दोस्रो भागमा गणना अगाडि बढाईने सूचना अधिकारी थापाले बताए । दोस्रो भागमा सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुँदै, बोटे सिमारा, सोमेश्वर, बगई, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिनेछ । उनका अनुसार दोस्रो भागलाई ३ सय ३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिने छ । एउटा ग्रिडमा दुई साता सम्म एक जोडी स्वचालित क्यामरा राखेर बाघ गणना गरिनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ र जेड एस एल लगातयका निकायको सहयोगमा गत पुस १ गते देखि देशै भर र चितवन राष्ट्रिय निकुञ्जमा पुस ३ गते देखि गणनाको काम सुरु गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज सहित नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझन्डी क्षेत्रमा बाघ गणनाको काम अगाडि बढाईएको हो ।

करिब तीन महिना संकलित तस्बिरलाई सफ्टवेयरमार्फत ‘एससीसीआर’ विधिबाट विश्लेषण गरिनेछ । त्रुटि नहोस् भनी विज्ञ टोलीले पुनः परीक्षण गरेपछि नतिजा सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सबै प्रक्रिया सफल भए २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक गर्ने लक्ष्य छ ।

यस अघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology