कावसोती । कावासोतीमा रहेका मध्यवर्ती सामुदायिक वनहरुले वन्यजन्तुका लागि व्यवस्थित घाँसे मैदानको व्यवस्था गरेका छन् ।
लामिचौर उपभोक्ता समितिको आ.व २०८१/८२ को बजेटबाट तीन वटा सामुदायिक वनको ४० हेक्टर भन्दा धेरै क्षेत्रफलमा
घाँसे मैदान निमार्ण गरिएको लामिचौर उपभोक्ता समितिका सचिव लेखनाथ दवाडीले बताए ।
कावासोती-११ को कुमारवर्ती मध्यवर्ती सामुदायिक वन, कावासोती-१३ को शान्तीकुञ्ज मध्यवर्ती सामुदायिक वन र कावासोती-७ को कृष्णसार मध्यवर्ती सामुदायिक वनमा ७ लाखको लगानीमा वन्यजन्तुका लागि घाँसे मैदान निर्माण गरिएको हो ।
सचिव दवाडीका अनुसार वन क्षेत्रका खुला स्थानमा वनमारालगायत अनावश्यक झाडी र झार हटाएर घाँसे मैदान बनाईएको हो । मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्जले वर्षेनी घाँसे मैदान बिस्तार कार्यक्रममा बजेट उपलब्ध गराउदै आएको र उक्त बजेट बाट यस पटक तीन वटा मध्यवर्ती सामुदायिक वनमा घाँसे मैदान बनाईएको हो ।
घाँसे मैदान व्यवस्थापन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । घाँसे मैदानको निर्माण र व्यवस्थापनसँगै यहाँ गैँडालगायतका वन्यजन्तुको वासस्थान र चरन क्षेत्र बन्ने र जिप सफारी, हात्ती सफारीमा आउने पर्यटकले यस क्षेत्रमा सहज रुपमा वन्यजन्तु अवलोकन गर्नसक्ने लामीचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताए ।
निकुञ्जमा रहेका वन्यजन्तु बासस्थान र आहाराको अभावमा बस्तीमा पस्न थालेपछि वन क्षेत्रभित्रनै घाँसे मैदानको व्यवस्थापन गर्ने कामको थालनी गरिएको हो । उचित चरनको बासस्थानको अभावमा वन्यजन्तु मध्यवर्ती आसपासका बस्तीमा परेर जनधनको क्षति पुर्याउने गर्दा यहाँका बासिन्दा त्रासमा बस्नुपर्ने अवस्था छ। चालू आवको ८ महिनामा निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास वन्यजन्तुको आक्रमणमा परेर ५ जनाले ज्यान गुमाएका छ्न भने ६ जना घाईते भएका छ्न ।
प्रकाशित : २०८१ फागुन २२ गते ९:०४
Facebook Comment